सुनले शरीर ढाकिएको ‘ट्राेल’ तस्बिरबारे ओली- त्यति सुन त म बोक्न पनि सक्दिनँ होला

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेका छन्।

औंठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको उनले बताए।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औंठी नलगाएको पनि बताए।

‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका, यता पनि सुनैसुनका बोकी नसक्नु। त्यति सुन म बोक्न पनि सक्दिन होला। तर मेरो शरीरमा सुन भन्ने कुरा मैले जिन्दगीमा औैंठी लगाएको छैन। म सानो हुँदा मेरो आमा बित्नु भएको। आमाले लगाउने गर्नुभएको औंठी यो तैँले लगा भनेर सानो छँदैखेरि एक पल्ट लगाइदिएका थिए। ३/४ दिन मैले लगाएँ,’ ओलीले भने, ‘आमाले कान्छी औंलातिर लगाएको औंठी मैले बीचको औंलातिर लगाउँदाखेरि पुरुषको औंला अलि ठूलो हुन्छ नि, अलि सानै हुँदा बीचको औंलातिर मिल्थ्यो, त्यसो भएर २/४ दिन यो तिम्रो आमाको हो, तिमीले नै लगाऊ भनेर दिइएको थियो। त्यो औंठीले मलाई बडो डिस्टर्ब गर्‍याे।’

उनले त्यो सत्यलाई बंग्याएर आफ्नो सुनैसुनले ढाकेको फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए।

आफूसँग भएको ज्ञान, कला र क्षमताको दुरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए।

इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै उनले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न पनि कलाकारहरूलाई आह्वान गरे।

उनले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताए। एमालेले मुलुकको समृद्धिको अभियान सञ्चालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने उनको भनाइ थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर