सरकारका सचिव र अधिकारी बसेर करका दर हेरफेर भएको हो: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थसचिव, राजस्व सचिव, आन्तरिक राजस्व विभाग प्रमुख, भन्सार विभाग प्रमुख र उपसचिव मात्रै बसेर करका दर हेरफेर गरेको दाबी गरेका छन् । उनले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको समेत बताए ।

अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिएका हुन् । उनले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने दाबी गरे ।

आर्थिक मिडिया सोसाइटीले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको स्पष्ट पारे । उनले इमान्दार भएर काम गर्दा हिलो छाप्ने काम भएकोमा दुखसमेत ब्यक्त गरे ।

‘कसैले नियोजित रुपमा समाचारहरु लेखिरहेको छ, यस्तोमा इमानदारको कुनै काम छैन्,‘ अर्थमन्त्री महतले थपे, ‘बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काममात्रै गरिएको छ ।’

‘राम्रो काम गर्दापनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छेहरुको काम छैन भनेर घोषणा गरिदिए हुन्छ,’ उनले भने । एकाध मानिसहरुको फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने उनको भनाई थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर