अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले सो कुरा भनेका हुन्।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र प्रवर्द्धन गर्ने कुरामा सरकार दृढ रहेको उनको भनाइ छ।

उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार विस्तारका साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए।

उनले साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीयस्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरू प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएकाले यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले ‘एक घर एक व्यवसाय’ को सिद्धान्तलाई मूल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे।

कार्यक्रममा व्यवसायीहरूले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर