सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : दोस्राे दिन सद्भाव र सुवासलाई तीन स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सदभाव आचार्य र सुबाश तामाङ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।

गोकर्ण गल्फ क्लबमा सदभाव र सुबाशले ३६ होलको समाप्तीमा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन्।
गोकर्ण गल्फ क्लबमा आज राष्ट्रिय टिमका खेलाडी सदभावले ७-अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए। सुबाशले भने इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे।

दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८-अन्डर ६४ को स्कोर बनाए। यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। शुक्रले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६-अन्डर १ सय ३८ स्कोर गरे।

४-अन्डर १ सय ४० सहित भुवन नगरकोटी र तोरण विक्रम शाही संयुक्तरुपमा पाँचौ स्थानमा छन्। भुवनले ४-अन्डर ६८ र तोरणले इभन-पार ७२ स्कोर गरे।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन्। दुवैले आज इभन-पार ७२ को कार्ड बनाए। समग्रमा २-अन्डर १ सय ४२ सहित सुर्य प्रसाद शर्मा नवौं स्थानमा छन्। आज उनले २-अन्डर ७० स्कोर गरे। इभन-पार ७२ सहित समग्रमा १-अन्डर १ सय ४३ सहित दिनेश प्रजापति दशौं स्थानमा छन्।

३६ होलको समाप्तीमा ७-ओभर १ सय ५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाएका छन्। प्रोफेसनलतर्फ रबि खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवन कुमार रोक्का, धन बहादुर थापा, दल बहादुर गुरुङ, रामे मगर, पुर्ण प्रसाद शर्मा, भुबहादुर गुरुङ, टासी घले, दीपक मगर, टंक बहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।

एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २-अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन्। यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए।

युवा एमेच्योर सदभावले दिनको सुरूवात बर्डीबाट गरे। यसपछि तेस्रो देखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा एक-एक सट बचाए। सातौं होलको बोगीले फ्रन्ट नाइन ५-अन्डर ३१ मा पुरा गरे। त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३४ मा सकाए।

पहिलो दिनका लिडर तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। छैटौं र आठौं होलमा एक-एक सट खेर फाले। १२औं होलमा बर्डी प्रहार गरेपनि १४औं र १८औं होलमा बोगी खेपे। ब्याक नाइन १-ओभर ३७ मा सकाए।

धरानका प्रोफेसनल गल्फर नीेरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे। उनले तेस्रो देखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ७-अन्डर २९ मा पुरा गरे। ११औं, १२औं र १५औं होलमा एक-एक सट बचाए भने १४औं र १६औं होलमा बोगी प्रहार गरे।

यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौं होलमा एक-एक सट बचाए भने आठौं होलमा बोगी खेपे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। १२औं, १५औं र १८औं होलमा बर्डी प्रहार गरे भने ११औं र १३औं होलमा बोगी खेपे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ।
कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिता सकिँदा ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्षस्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *