नेपाल प्रहरीले सगरमाथामा फहराएको झण्डा आईजीपी कुँवरद्वारा इन्टरपोललाई हस्तान्तरण

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरीका कर्मचारीले सर्वोच्च शिखर सगरमाथामा फहराएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन्।

प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल-रैसी र महासचिव जर्गेन स्टकलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथाको चुचुरोमा फहराएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका हुन्।

इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिंगापुरमा सुरु भएको १८ औं हेड अफ नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) कन्फ्रेन्सका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गरेका हुन्।

इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १०० औं सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले जेठ २ गते बिहान १०:१५ बजे सगरमाथा आरोहण गरेका थिए। उनले चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराएका थिए।

आगामी शुक्रबार सम्पन्न हुने उक्त कन्फ्रेन्समा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरूसमेत आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

एनसीबी काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त कन्फ्रेन्समा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए। कन्फ्रेन्समा एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा पनि सहभागी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर