देशमा ठूलो सुरक्षा चुनौती छैन : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्रधानसेनापति शर्माले संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरे पनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै पनि चुनौती नरहेको स्पष्ट पारे ।

कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरु हुने गरे पनि ती समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेको उनको भनाइ छ । देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको शर्माले जानकारी दिए ।

मंगोल नेशनल अर्गनाइजेसन र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरे पनि राष्ट्रिय समस्याको रुपमा नरहेको, दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको उनको भनाइ छ ।

प्रधानसेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए । उनले भारत र चीनबीच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको जानकारी दिए ।

‘त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा समेत केही संख्यामा शरणार्थीहरु जसलाई हामी रोहिङ्ग्या शरणार्थी आएर बसेका छन् । तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउनसक्ने सम्भावनाहरु देखिन्छ,’ शर्माले भने ।

प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउन नहुने बताए । यद्यपि उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध गर्नुपर्ने उनको भनाई छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताए। देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर