नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको बताएका छन्।

बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए।

उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने बताए।

उनले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताए।

उनले भने, ‘हामीले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो। देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ। यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौं। त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ।’

उनले अघि थपे, ‘हामी नेपाललाई बदल्न संकल्पसहित हिँडेका अगुवाहरूको यो पार्टी हो। पुराना र नयाँ भुल्काका रूपमा उदाइरहेका शक्तिहरू भन्दा फरक नेपाल समाजवादी पार्टी हो भन्ने कुरा यहाँ राख्नेछौं।’

अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *