आगामी आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा गर्ने दाबी गरेका छन्।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सो दाबी गरेका हुन्।

उनले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सक्ने आधारहरू रहेको बताए। उनले सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी आर्थिक वर्षको पहिलो दिनदेखि काम थालनी गर्ने बताए।

उनले सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा गर्न सक्ने गरी कामहरू गर्न सुरु गरेको बताए। उनले अर्थ मन्त्रालयको मात्रै प्रयासमा यो सम्भव नहुने भन्दै राज्य संयन्त्रको सहयोगको अपेक्षा रहेको बताए।

उनले समग्र राज्य संयन्त्र एकाकार भएर काम गर्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने बताए। उनले सरकारले राजस्वको दायरा बढाउँदै राजस्व संकलन बढाउन कागती निचोरेजस्तो गरेर नभई अर्थतन्त्र चलायमान बनाउने गरी राजस्व संकलन गर्र्ने नीति लिएको बताए।

उनले बजेटको आकार घट्नुको प्रमुख कारण सरकारले तिर्नुपर्ने ऋणको दायित्य वृद्धि रहेको बताए। उनले सरकारले ल्याएको बजेटमा स्रोत सुनिश्चिताका विषयमा प्रश्न उठाउने ठाउँ रहेको बताए।

उनले सरकारले चालु आर्थिक वर्षको भन्दा कम आर्थिक वृद्धि, आन्तरिक ऋणको लक्ष्य राखेको बताए। उनले सरकारको ऋण दिनुपर्ने दायित्व बढेकाले त्यसको चाप पुँजीगत खर्चमा परेको बताए।

उनले आन्तरिक ऋण बैंकबाट राज्यले लिँदा निजी क्षेत्रमा हुने पुँजी प्रवाह साँघुरो हुने भएकाले आन्तरिक ऋण कम लिएको बताए। उनले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भन्दै सरकारले गरेर मात्रै पुग्न नसक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर