बजेट संशोधनबारे यस्तो छ सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको धारणा

सांसदहरूले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् ।

संसदमा बजेट संशोधनसहित पारित गर्नुपर्ने आवाज उठिरहेका अवस्थामा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन्।

यद्यपि, बजेट संशोधन गर्ने कुरामा सत्तारूढ दलहरूको स्वार्थ बाझिएको हुन सक्ने पनि प्रतिपक्षी दलहरूले आशंका गरेका छन् ।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सत्तारूढ दलका सांसदहरुलाई भागबण्डा पुर्‍याउनका लागि बजेट संशोधन गर्ने कुरा गरिएको बताएका छन्। प्रमुख सचेतक गिरीले सरकारले बजेट संशोधन गर्ने कुरा सुनिए पनि बजेटको आधारभूत पक्षहरूमा संशोधन गर्न नखोजिएको बताएका हुन्।

उनले सत्तापक्षका सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रहरूमा भागबण्डा पुर्‍याउनका लागि बजेट संशोधनको कुरा गरिएको बताए। उनले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले संशोधन गरेर भए पनि पास गर्ने भनेको भन्दै यसबाट आशा गर्नुपर्ने ठाउँ नदेखिएको बताए।

त्यसैगरी गर्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बजेटलाई पुनर्लेखन नै गर्नुपर्ने आफ्नो पार्टीको भनाइ रहेको बताए। उनले प्रतिपक्षी दलका सांसदहरूले संसदमा उठाएका विषयहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए।

उनले बजेटमा प्रधानमन्त्री, अर्थमन्त्री, केही प्रभावशाली मन्त्री र सत्तापक्षकै प्रभावशाली नेता तथा सांसदहरूको अनुहार देखिएको टिप्पणी गरे। उनले सन्तुलित विकास गर्नुपर्नेमा जोड दिए।

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बजेटले सत्तारूढ दलका धेरै सांसदहरूलाई असन्तुष्ट बनाएको बताए।

उनले विधि र कानूनले दिएसम्म बजेटलाई परिमार्जन गरेर लैजानुपर्ने बताए। उनले बजेट छुट्याउन आवश्यक ठाउँहरूमा विनियोजन गरी सन्तुलन मिलाएर जानुपर्ने बताए।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पूर्वाधार विकास क्षेत्रको बजेट असन्तुलित भएको बताए।

उनले बजेटलाई सन्तुलित बनाउन सांसदहरूले माग गरिरहेको उल्लेख गरे। उनले कानूनी उपायहरूको खोजी गरेर बजेटलाई सन्तुलित बनाउनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आजसम्म बजेट संशोधन भएको आफूले नदेखेको भन्दै बजेटलाई संशोधन गर्नु गल्ती हुने बताए।

जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले संसदमा छलफलपश्चात बजेट संशोधन गर्दा राम्रो हुने धारणा राखिन्। उनले बजेट संशोधन हुँदा सांसदहरूको गरिमा बढ्ने पनि बताइन्।

उनले फजुल खर्च कटाउने र भौगोलिक विविधताका आधारमा बजेट विनियोजन गर्नुपर्ने कुरालाई जोड दिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर