बजेट भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज सातै प्रदेशका एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरूसँग भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन पनि दिए ।

बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन प्रदेशसभा सदस्यहरूलाई उनले आग्रह गरे ।

पार्टी अध्यक्ष ओलीले पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न निर्देशन दिँदै भने, ‘सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ ।’

प्रदेशसभाको दुई तिहाइले विधिवत् ढङ्गले निर्णय गरेको कोशी नामकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै उनले कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्ण रूपमा समेट्ने धारणा राखे ।

अध्यक्ष ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले प्रदेशको नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने स्पष्ट पारे । उनले कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र एमाले नेतृत्वको सरकार कायम रहनेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर