बालेनको कार्यशैली अलोकतान्त्रिक भन्दै शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

काठमाडौं महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन्। शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका मेयर शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएकी हुन्।

मेयर शाहले लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा काम गरिरहेको अर्यालको आरोप छ।

मेयर शाहमा लोकतान्त्रिक अभ्याससमेत नभएको पनि उनले बताइन्। यस्तै सिनेमा हल बन्द गराउने विषयमा पनि बालेन्द्रको निर्णयप्रति उनको असहमति छ।

‘आदिपुरूष’ चलचित्रको संवादको विषयलाई लिएर उनले सिनेमा हलमाथि लगाएको प्रतिबन्धले धेरै व्यवसायी त्रसित भएको उनले बताइन्। फिल्मको विषयको विवाद आफ्नो पारिवारिक व्यवसाय पनि भएकाले महानगरमा बस्न आफूलाई नैतिक रूपमा पनि नमिल्ने बताइन्।

गत वर्ष भदौमा काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा नियुक्त अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन्।

२०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो। उनले टिच फर नेपालको ५ वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *