रूसी सेनामा नेपाली भर्ती भएको विश्वसनीय जानकारी छैन : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरू भर्ना भएको विश्वस्त जानकारी प्राप्त नभएको बताएका छन् । पछिल्लो समय केही नेपालीहरु रुस, युक्रेनका सेना तथा यी दुई देशको लडाइँमा प्रयोग भएको भाडाको सेनामा भर्ना भइरहेको सामाजिक सञ्जालमा भिडियोहरु आइरहँदा परराष्ट्रमन्त्री साउदले यसबारे यकिन रिपोर्ट सरकारले प्राप्त नगरेको बताएका छन् ।

मन्त्री साउदले बीबीसी नेपालीसँगको अन्तर्वार्तामा नेपालीहरु ती देशका सेनामा भर्ना भए नभएकोबारे रुसस्थित नेपाली दूतावासले अध्ययन गरिरहेको र त्यहाँबाट रिर्पोट प्राप्त नभएको जानकारी दिएका छन् । सामाजिक सञ्जाल र कतिपय विवरणमा आएका जानकारीका आधारमा सरकारको यस विषयमा ध्यानाकर्षण भएको उनको भनाइ थियो ।

हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा दुई देशबीच लामो समयसम्म थाती रहेको विषयमा वार्ता र समाधानको ढोका खोलिदिएको मन्त्री साउदले बताए । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग गरेको एक्लाएक्लै भेटघाट पनि स्वाभाविक भएको उनको भनाइ छ ।

‘स्वाभाविक रूपमा त्यहाँका प्रधानमन्त्रीसम्म सुरक्षा सल्लाहकारको पहुँच हुन्छ। केही मुद्दाहरू नेपालको आर्थिक विकासको सम्बन्धमा, सुरक्षासँग सम्बन्धित मुद्दाहरू या परराष्ट्रसम्बन्धी नै मुद्दाहरू होऊन्, विदेश नीतिका मुद्दा होऊन् जसमा चाहिँ गतिरोधलाई फुकाउनुपर्छ । चाहे सीमासम्बन्धी मुद्दाहरू होऊन् । त्यसमा दुइटै देशका प्रधानमन्त्रीको हस्तक्षेपको आवश्यकता पनि पर्छ । त्यो कुराका लागि सहजीकरण होओस् भन्ने उद्देश्यले सुरक्षा सल्लाहकारसँग एक्लाएक्लै बैठक भएको हुनुपर्छ,’ उनले भने ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालेश्वर दर्शन गरेका थिए, जुन विषयमा विवादमा परेको थियो । तर, औपचारिक भ्रमणपछि यो अवलोकन भ्रमण भएको मन्त्री साउदको भनाइ छ । ‘पहिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बेलामा तिरुपति बालाजीको मन्दिर गएर हामीले दर्शन गरेका थियौ, यो पालि महाकालेश्वरको दर्शन गर्‍याैं’ उनले भने ।

उनले चीनसँगको सम्बन्धमा पनि सरकारले आवश्यकताअनुसार प्रक्रिया अघि बढाउने बताए । बीआरआई जस्ता परियोजना कार्यान्वयनका लागि चीनबाट प्रस्ताव आए पनि नेपालले ऋण लिनसक्ने क्षमताको आधारमा मात्रै ती परियोजना स्विकार्ने वा नस्विकार्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ ।

‘बीआरआई जसमा नेपालले सहमति जनाइसकेको छ त्यसमा पनि तपाईँहरू प्रोजेक्ट लिनुस् भन्दै आउनुभएको छ । यसमा हामी ऋण लिँदा त्यसलाई धान्न सक्छौं कि सक्दैनौं, प्रोजेक्टको बारेमा सघन र व्यापक अध्ययन गरेपछि मात्रै लिन्छौं भनेको हो । त्यो चीनसँग मात्रै होइन जुनसुकै देशसँग लिँदा पनि त्यही रूपमा हामी लिने गर्छौं,’ मन्त्री साउदले भने ।

उनले अगाडि भने, ‘चीनले प्रतिबद्धता जनाएका आर्थिक सहयोग लगभग एक खर्बका हाराहारीमा छ भन्ने जानकारीमा आएको छ । मैले अर्थ मन्त्रालयलाई मौखिक रूपमा आग्रह गरेर ती ग्रान्टका लागि परियोजनाहरू विकास गर्ने, ती परियोजनाहरूको कार्यान्वयनबाट नेपालले फाइदा लिन अगाडि बढ्नुपर्ने कुरामा सम्बन्धित मन्त्रालयहरूसँग उपयुक्त किसिमको समन्वय गर्न भनेको छु ।’

तर भारत र चीनबीचको सम्बन्ध तुलना गरेर नेपाल कुण्ठित हुनुनपर्ने उनको भनाइ छ । दुवै देशसँगको सम्बन्ध आवश्यकताअनुसार तय हुने मन्त्री साउदले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *