जसपाको विधान अधिवेशन आज सकिँदै, अध्यक्ष यादवले जवाफ दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ। यही असार १० गते आइतबारदेखि सुरू भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ। अध्यक्ष यादवले प्रस्तुत गरेकाे मस्यौदा विधानमा सोमबार १० समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरू भएको थियो। उक्त १० समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको सो पार्टीले जनाएको छ।

जसपाको प्रस्तावित विधानमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छ। यसैगरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी एउटै पदमा बस्न नपाउने, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको हुनुपर्नेलगायतका प्रावधान राखिएको विधान प्रस्तुत भएको छ।

उक्त मस्यौदा विधानमा छलफलका लागि केन्द्रीय समितिका चार सय छ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित १० सहित सात सय ४६ प्रतिनिधि सहभागी रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर