काभ्रेको मनमती मन्दिरको भग्नावशेषमा मूर्ति फेला, पुरातत्व विभागद्वारा अनुगमन

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ । भेटिएको उक्त मूर्ति दुई फिट अग्लो छ ।
मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गर्दै भेटिएको मूर्तिसहित मन्दिर यथास्थानमा निर्माण गर्न निर्देशनसमेत दिएको छ । नगर कार्यालयले प्रशासनिक भवन निर्माणार्थ मनमती देवीकै मन्दिर हटाएर पुरातात्विक वस्तुसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोलीले बुधबार अनुगमन तथा अध्ययन गरेको हो ।
हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको उल्लेख गरेका छन् ।
सत्तरी वर्षअघि निर्माण भएको उक्त मन्दिर भत्काउँदा जमिनमुनि भेटिएको उक्त मूर्ति प्राचीन रहेको पुरातत्वविद् पाठकले बताए । उनका अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमै राख्न भनिएको छ ।
यस्तै टोलीले अनुगमनका क्रममा करिब छ सय वर्ष पुरानो देवीको मूर्तिसमेत फेलापरेको थियो । उक्त मूर्ति पनि अहिले मन्दिर भएकै ठाउँमा राखिएको छ ।
उक्त मन्दिर हाल निर्माण गरिएको नगरको भवनको उत्तरतर्फ रहेको थियो । वडाध्यक्ष विष्णुप्रसाद पौडेलले केही वर्षअघि नगर कार्यपालिकाले मन्दिर हटाउने निर्णय गरेकाले आफ्नो भूमिका नरहेको बताए । नगरले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयले विरोध गर्दै आएका छन् । केही दिनअघि स्थानीयको विरोधलाई तितरवितर पार्न सशस्त्र प्रहरी बलसमेत प्रयोग गरिएको थियो ।
मनमती देवीको मन्दिर नगरपालिकाको निर्माणाधीन भवनको उत्तरपट्टि रहेको छ। नगरपालिकाले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन्।
स्थानीयवासीको धार्मिक आस्थाको केन्द्र मनमती देवीको मन्दिर सार्दा प्रहरी प्रशासनले बल प्रयोगसमेत गरेको स्थानीय रामशरण भारतीले बताए। उनका अनुसार स्थानीयवासीले विरोध गर्दागर्दै नगरपालिकाले जबर्जस्ती हटाएको थियो। भारतीका अनुसार यो मन्दिर झन्डै ७० वर्ष पुरानो हो।
यसमा रहेका मूर्तिहरू प्राचीन भएको स्थानीयवासीको दाबी छ। मन्दिरमा स्थानीयवासीले देवीको पूजाआजा गर्दै आएका छन्।
मण्डनदेउपुर नगरपालिका– ७ का वडाध्यक्ष विष्णु पौडेलले मन्दिर हटाउन आफ्नो कुनै भूमिका नरहेको बताए। ‘म वडाध्यक्ष बन्नुअघि नै मन्दिर हटाउने निर्णय भएको रहेछ,’ उनले भने, ‘तर, स्थानीयले मलाई गाली गरिरहेका छन्, यो मन्दिर संरक्षणमा मैले पनि आवाज उठाइरहेको छु।’
विभागबाट अनुगमनमा पुगेका पुरातत्वविद् विष्णु पाठकले हाललाई मन्दिर रहेकै ठाउँमा देवीका मूर्तिहरू राख्न निर्देशन दिइएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर