गुणस्तरीय उपचारकाे पहुँच सुनिश्चित गर्न सबैकाे दायित्व आवश्यक : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सहयोगमा कान्तीबाल अस्पतालद्वारा आज आयोजित ‘नेपालमा बाल्यकाल क्यान्सरको उपचार पहल’सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बालबालिकाको सामाजिक, आर्थिक, पृष्ठभूमि जस्तोसुकै भए पनि क्यान्सरको गुणस्तरीय उपचारका पहुँचमा सरोकारवाला सबैको दायित्व भएको बताए। यसका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनकाे भनाइ छ।

‘हामी एउटा समाज सिर्जना गर्न सक्छौँ, जहाँ बाल्यकालको क्यान्सर अब विनाशकारी निदान होइन तर व्यवस्थापन गर्न सकिने होस्,’ मन्त्री बस्नेतले भने।

मन्त्री बस्नेतले बाल्यकालको क्यान्सरविरूद्ध बाल चिकित्सा ‘ओन्कोलोजी’ का विज्ञले दिएको सुझाव महत्त्वपूर्ण हुने बताए। ‘ज्ञान र अनुभवको आदानप्रदान र सहयोगात्मक प्रयासले बाल्यकालको क्यान्सरविरुद्ध निःसन्देह दूरगामी फाइदा दिनेछ,’ उनले भने।

उनले बाल्यकालको क्यान्सरविरूद्धको लडाइँमा उज्यालो भविष्य निर्माण गर्न नेपाली स्वास्थ्यकर्मीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रहसमेत गरे। ‘नेपालमा बाल्यकालको क्यान्सर निदान निकै चुनौतीपूर्ण छ, अमूल्य छलफल, गहन अन्तर्दृष्टि, र दिगो परिवर्तनलाई मार्गदर्शन गर्ने स्थायी सहयोगका लागि तालिम तथा कार्यशालाले सहयोग गर्नेछ,’ उनले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव टङ्क बराकोटीले बाल्यकालको क्यान्सरबाट ग्रसितको अनुगमन गरी उपचारको पहुँचमा पुर्‍याउन सरोकारवालाई आग्रह गरे।

डब्ल्यूएचओका हेडक्वार्टरका डा. रोबोर्टाले पछिल्लो समय क्षमता अभिवृद्धिका कारण बाल्यकालको क्यान्सरविरुद्धका प्रयास सफल हुँदै गएको उल्लेख गर्दै चुनौतीको सामना गर्न सदैव तयार रहनुपर्ने बताए।

कान्तीबाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले प्रत्येक बालबालिकालाई रोगले आक्रमण गर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै बाल्यकालको क्यान्सरविरूद्धको अभियानमा साथ दिन आग्रह गरे।

दुई दिने कार्यशालामा डब्ल्यूएचओका दक्षिण पूर्वी एशियाली राष्ट्रका प्रतिनिधि तथा क्यान्सर उपचार गर्ने नेपालका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीको उपस्थिति छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *