सारंगी संरक्षण गर्दै प्रदेश सरकार

तुलसीपुर उपमहानगरपालिका-४, रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए। करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरु मध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ। उनीहरूलाई सारङ्गी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ। उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय सङ्कटको पेसा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ।

सोही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए। उनले भने, ‘सारङ्गी बाजामा चारवटा तार र त्यसबाट ३६ स्वर निकाल्न सकिन्छ। यसमा त राष्ट्रियता पो झल्किन्छ। यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ।’

सारङ्गी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटोबाट सारङ्गी बनाउन सकिने जानकारी दिए। उनले २५ सारङ्गी तयार पारेका छन्। आफूले बनाएका सारङ्गीको बजार मूल्य पाँच हजारदेखि ३५ हजार रूपैयाँ रहेको बताए।

एउटा सारङ्गी बनाउन पाँच दिन लाग्ने गणेशले जानकारी दिए। उनले भने, ‘राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै सङ्कटको सारङ्गी बचाउन सकिन्छ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्कटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए। उनले गन्धर्व समुदायको सङ्कटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको उनले बताए। नगरप्रमुख खड्काले सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेर व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ भने।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुर्‍याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवर्द्धन गरेको छ। पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारङ्गी बाजाका लागि सङ्गीत कक्षा र सारङ्गी बनाउने सीप प्रवरद्धन गरिएको जानकारी दिए।

उनले उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने बताए। उनले भने, ‘सारङ्गी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर