प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उनले सो कुरा बताएका हुन्।

‘प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय र विभागसँगको समन्वयनबाट यस क्षेत्रका तागतलाई एकीकृत गरी उपलब्धिमूलक बनाउनु आवश्यक छ, जसको पूर्ण समर्थनमा मन्त्रालय रहेको छ,’ मन्त्री बस्नेतले भने।

प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभ, पर्यटन प्रवद्र्धन लगायतका बहुआयामिक फाइदा रहेकाले यस पद्धतिलाई सशक्त बनाउन सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने र यसमा सरकारको पनि सहयोग रहने मन्त्री बस्नेतको भनाइ थियो ।

विभागमा प्राकृतिक चिकित्सकको व्यवस्थाका लागि तत्काल एकजना आठौँ तहको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिँदै उनले यो क्षेत्रमा थप जनशक्तिको व्यवस्था गर्दै जाने बताए।

आयुर्वेद चिकित्सक डा. पुनेश्वर केशरीले प्राकृतिक चिकित्सासम्बन्धी विद्यमान नीति, मापदण्ड, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै संवैधानिक व्यवस्थाअनुसार पालिकासम्म पुर्‍याउनु आजको आवश्यकता रहेको बताए।

पूर्वसांसद शङ्कर पाण्डेले मुलुकको भौगोलिक विविधताअनुसार प्राकृतिक चिकित्सासँग सम्बन्धित कार्यक्रम फरक ठाउँमा फरक रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउँदै प्रकृतिसँग जोडिएको चिकित्सालाई सबैले अनुसरण गर्न आवश्यक रहेको छ भने।

योग तथा प्राकृतिक चिकित्सक सङ्घकी डा. प्रतीक्षा पाण्डेले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास प्रवर्द्धनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारी तहबाटै पहल गर्नुपर्ने बताइन्।

आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोे बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर