सरकार ढल्दैन, जनताको पूर्ण समर्थन छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन्।

प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तरक्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन्।

उनले भनिन्, ‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरूद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ। सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ।’

संसदमा विपक्षी दलले असान्दर्भिकरूपमा विषयवस्तु उछालेर गतिरोध गरेकामा आपत्ति प्रकट गर्दै मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्त्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उनको भनाइ छ।

उनले सदनमा उठाइएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्न समय मागेकाले त्यसपछि गतिरोध हट्ने विश्वास व्यक्त गरिन्।

मन्त्री शर्माले देश र जनतालाई साक्षी राखेर म देशका लागि केही गर्छु भनेर प्रधानमन्त्रीले भनिरहेको अवस्थामा सरकारलाई सहजताका साथ काम गर्न दिन संसद्ले सहयोग गर्नुपर्ने बताइन्।

उनले सङ्घीय निजामती ऐन र सङ्घीय शिक्षा ऐनलाई अगाडि बढाउने प्रक्रियामा सरकार रहेको पनि अवगत गराइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर