चीनको एक किन्डरगार्टनमा छुरा प्रहार, ३ बालबालिकासहित ६ जनाको मृत्यु, एक घाइते

दक्षिणी चीनको गुआङङाेङ प्रान्तको एक पूर्वप्राथमिक विद्यालय (किन्डरगार्टन) मा छुरा प्रहार हुँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु र एक जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अधिकारीहरूका अनुसार मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन्।

लियानजियाङ शहरमा रहेको सो किन्डरगार्टनमा स्थानीय समयअनुसार सोमाबार बिहान ७:४० बजे घटना भएको हो। घटनामा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुरक्षा सुधार गर्ने सरकारी प्रयासहरूका बावजुद चीनमा पछिल्ला वर्षहरूमा विद्यालयहरूमा धेरै छुरा प्रहारका घटनाहरू भइरहेका छन्।

गत अगस्टमा दक्षिणी जियाङ्सी प्रान्तमा एउटा नर्सरी विद्यालयलाई पनि निशाना बनाएर भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो।

अप्रिल २०२१ मा दक्षिणी चीनको एउटा किन्डरगार्टनमा एक व्यक्तिले चक्कु प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको थियो र अन्य १६ जना घाइते भएका थिए।

अघिल्लो वर्षको जुनमा दक्षिणी चीनको एक प्राथमिक विद्यालयमा चक्कु प्रहारबाट ३७ विद्यार्थी र दुई वयस्क घाइते भएका थिए।

नोभेम्बर २०१९ मा एक व्यक्तिले दक्षिणपश्चिम युनान प्रान्तमा किन्डरगार्टनको पर्खालमा चढेर मानिसहरूलाई संक्षारक तरल छर्किँदा ५१ जना घाइते भएका थिए, जसमा अधिकांश विद्यार्थीहरू थिए।

सोही वर्ष मध्य हुबेई प्रान्तमा ‘विद्यालयसम्बन्धी आपराधिक मुद्दा’ मा ८ स्कुले बालबालिकाको मृत्यु र दुई जना घाइते भएका थिए। घटनामा एक ४० वर्षीय व्यक्ति पक्राउ परेका थिए।

अप्रिल २०१८ मा एक २८ वर्षीय व्यक्तिले उत्तरी प्रान्त शान्सीमा ९ जना कलेजका विद्यार्थीहरूको हत्या गरेका थिए र अन्य १२ जनालाई स्कुलबाहिर आक्रमण गरी घाइते बनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर