नेपालमा बीआरआई परियोजना कार्यान्वयन भएको छैन : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा हालसम्म चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन नभएको बताएका छन्।
पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूत छेन सङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत निर्माण भएको भनिरहेका बेला मन्त्री साउदले भने बीआरआई हालसम्म कार्यान्वयन नभएको स्पष्ट पारेका हुन्।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको भए पनि यसअन्तर्गत हालसम्म कुनै पनि योजना अघि नबढेको बताए।
मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने पनि बताए।
‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ। कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ। र, एमसीसी एउटा ग्रान्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ। बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयू गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ। यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरू भएको छैन,’ उनले भने।
परराष्ट्रमन्त्रीसाउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने पनि बताए।  एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो।
‘दुई छिमेकी मुलुकको उदीयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ । नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनुपर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’
छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शी रूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए। ‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले भने, ‘पारदर्शी रूपले आफ्ना कन्सर्न राख्नुपर्छ।’
भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै उनले खुला सिमाना, दुई तिहाइ व्यापार, पारवहन सुविधाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए। यसैगरी उहाँले एक चीन नीतिमा सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रका विरूद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिए।
अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। परराष्ट्रमन्त्री साउदले अमेरिका र युरोपियन युनियनबाट अधिकतम विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए।
परराष्ट्रमन्त्री साउदले रसियामा नेपाली युवा सेनामा भर्ना भएको भनिएको विषयमा मस्कोस्थित नेपाली नियोगलाई यकिन गर्न लगाइएको पनि समितिलाई जानकारी दिए।
उनले राजदूत नियुक्तिबारे उच्च तहमा परामर्श भएको जानकारी दिए। ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका र मापदण्डअनुरूप नियुक्ति केही दिनमा नै हुने छ,’ परराष्ट्रमन्त्री साउदले भने।
उनले राहदानी सेवाको निरन्तरताका लागि थप खरिद प्रक्रिया अघि बढिसकेको पनि समितिलाई जानकारी दिए। पाँच वर्षका लागि पुग्ने गरी ६० लाख राहदानी खरिद प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
मन्त्री साउदले परराष्ट्र मन्त्रालयलाई ‘रि-स्ट्रक्चरिङ’ गर्नुपर्ने पनि बताए। ‘सबै मुलुकमा दूतावास छैनन् । जनशक्ति सीमित छ,’ उनले भने, ‘तसर्थ विदेशमा रहेका नेपालीको संरक्षण र राहतका काम गर्न सक्ने गरी परराष्ट्र मन्त्रालयको ‘रि-स्ट्रक्चरिङ’ गर्नुपर्ने छ।’ बढ्दै गएको दायित्व निर्वाहका लागि मन्त्रालयसँग जनशक्ति हुनपर्ने मन्त्री साउदको भनाइ थियो।
उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रक्रिया सुचारू गर्नेबारे सबै सदस्य मुलुकबीच सहमति जुट्न नसकेको अवस्था दर्शाउँदै प्रक्रियालाई पुनः सक्रिय गर्नेतर्फ प्रयास जारी रहेको बताए। मन्त्री साउदले रसुवा, तातोपानीलगायत चीनसँगका सीमा नाका अझै सहज बनाउने र अन्य नाकासमेत स्तरोन्नति गरी सञ्चालन गर्नेतर्फ कूटनीतिक पहल जारी रहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *