बीआरआई र जीसीआईमा नेपाल सहभागी भएको ‘प्रोपोगाण्डा’गर्दै चिनियाँ राजदूत, सरकार मौन

नेपालका लागि चीनका राजदूत छन सोङले सार्वजनिक रुपमै एकपछि अर्को विवादास्पद टिप्पणी गरिरहँदा नेपाल सरकारको भुमिका माथि नै शंका उब्जिएको छ ।

राजदूत छनले नेपाल सहभागि नै नभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र ग्लोवल सिभिलाइजेशन इनिसियटिभ (जीसीआई) मा सहभागी रहेको दाबीगर्दा समेत परराष्ट्र मन्त्रालयले शंकास्पद मौनता साधेको छ । उनले लगातार सामाजिक सञ्जालमा नेपाल बीआरआई र जीसीआईमा सहभागी भएको दाबी गरिरहँदा सरकार भने मौन रहेको छ ।

विश्लेषकहरु नेपालको यो रवैयाले उसलाईनै भविष्यमा अप्ठयारोमा पार्ने बताउछन् । उनीहरुले नेपाल समयमै स्पष्ट नभए देश नै कुटनीतिक तथा रणनीतिक जालोमा फस्ने दाबी गर्दै टिप्पणी गरिरहेका छन् ।

यद्यपि कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले जीसीआई अहिले अध्ययनकै चरणमा रहेको बताएका छन् । उनले कान्तिपुरका पत्रकार जगदीश्वर पाण्डेसँग भनेका छन्, ‘जीसीआई विश्व सभ्यतालाई एक ठाउँमा ल्याउने अवधारणा हो । यो अवधारणामा हामी अध्ययनकै क्रममा छौं । नेपाल सरकारले छलफल गरेर यसबारे निर्णय गर्छ ।’

पछिल्लो समय राजदूत छनले बिहीबार ट्वीटगर्दै ड्रागन बोट रेस चीनका राष्ट्रपति सी चीनपीङको अवधारणा ग्लोबल सिभिलाइजेसन इनिसियटिभको कार्यन्वयन भएको दाबी गरे ।

उनले ट्वीटमा भनेका छन्, ‘भगिनी सहर पोखरा र लिन्झीको कला समूहले सिजाङ संस्कृतिको दृश्य भोज प्रस्तुत गरेका छन् । यो ड्रागन बोट रेस फेस्टिभलको एउटा महत्त्वपूर्ण कार्यक्रम हो । यो ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको अर्को जीवन्त कार्यान्वयन हो ।’

 

जीसीआईका लागि चीनको सहकार्य प्रस्तावमा नेपालले अझै छलफल गरिरहेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले केहीदिन अघि गरेको चीनको औपचारिक भ्रमणमा रहेका जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) र जीसीआईमा सहभागी हुन चिनियाँ अधिकारीले आग्रह गरेका थिए । बेइजिङस्थित जनबृहत् सभाहलमा तिमिल्सिनासँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी) का स्थायी समिति अध्यक्ष चाओ लचीले जीएसआई र जीसीआईमा सहभागिता जनाउन आग्रह गरेका थिए ।

यस्तै यसअघि राजदूत छनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण कार्यक्रममा राजदूत छनले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

 

राजदूत छनले यसअघि उक्त विमानस्थल उद्घाटनको क्रममा पनि बीआरआई परियोजनाअन्तर्गत विमानस्थल बनेको बताएका थिए । तर, वास्तविकतामा भने नेपालले चिनियाँ बैंकसँग ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो । नेपालले चिनियाँ बैंकसँग महँगो ब्याजदरमा ऋण लिएको छ, जसको किस्ता तिर्ने अवधि पनि सुरु भइसकेको छ ।

विमानस्थल उद्घाटन हुनु एक दिनअघि काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतको परियोजना भएको ट्वीटरमार्फत दाबी गरेको थियो । वास्तविकतामा भने यो आयोजनामा चीनको २२ अर्ब रुपैयाँ ऋण नेपालले लिएको छ । पोखरा विमानस्थल बनाउन चाइना एक्स्पोर्ट–इम्पोट (एक्जिम) बैंकबाट ४० वर्षको लागि ऋण लिइएको हो ।

जब कि बीआरआई योजना आउनु अघि नै पोखरा विमास्थलको काम सुरु भएको थियो । सन् २०१२ मा नेपाल र चीनबीच विमानस्थल बनाउनेबारे समझदारी भएको थियो । त्यतिबेला विना प्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्रयाक्ट’ (ईपीसी) मोडेलमा विमानस्थल बनाउन सिधै चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो । जब कि बीआरआई योजनाको सुरुवात सन् २०१५ बाट भएको हो । चिनियाँ राष्ट्रपति सी चीनफिङ सत्तामा आएपछि यो योजना सुरु गरिएको थियो । त्यसैले पनि चीनले बीआरआईमा नेपाललाई जबर्जस्ती जोड्न खोजेको स्पष्ट हुन्छ ।

 

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर ९भ्याट०सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगो ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

चीनले भने ऋण लिएर बनाइएको उक्त विमानस्थललाई अनुदानमा बनाइदिएको जसरी प्रचार गर्दै आएको छ । नेपाल चीनको बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजनामा सहभागी हुने सम्झौता भएको छ । तर, हालसम्म उक्त परियोजनाअन्तर्गत कुनै पनि योजना नेपालमा अघि बढिसकेको छैन । चीनले उक्त परियोजना कुनै पनि प्रकारको सहयोग नेपाललाई हालसम्म पनि गरेको छैन । तर, राजदूत छन्ले भने पटकपटक पोखरा विमानस्थललाई बीआरआई परियोजनाअन्तर्गतको भन्दै भ्रम छर्दै आएका छन् ।

निर्माणको क्रमदेखि चिनियाँ ठेकेदार कम्पनीका कारण विवादित रहेको पोखरा विमानस्थलमा लामो समयदेखि अन्तर्राष्ट्रिय उडानसमेत हुन सकेको थिएन । व्यावसायिकरूपमा सञ्चालनमा आएको ६ महिनापछि आज बुधबार बल्ल उक्त विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान अवतरण भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान गरेको हो ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ ९पुस १७० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।

प्रतिक्रिया

One thought on “बीआरआई र जीसीआईमा नेपाल सहभागी भएको ‘प्रोपोगाण्डा’गर्दै चिनियाँ राजदूत, सरकार मौन

Leave a Reply

Your email address will not be published. Required fields are marked *