उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमै गर्ने व्यवस्था मिलाइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर्ने बताए । उनले उच्च ओहोदाका व्यक्ति उपचारविज्ञ चिकित्सकबाट गराउन मन्त्रालयले प्राविधिक व्यवस्था मिलाउने समेत बताए ।

उनले विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचर गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने धारणा राखे । पैसा हुनेले बाहिर गएर उपचार गर्ने, नहुनेले नगर्ने खाडल पनि पुरिन आवश्यक रहेको उनले बताए ।

‘यहाँ राम्रा विशेषज्ञ सेवा दिने चिकित्सकहरु धेरै हुनुहुन्छ । राम्रा चिकित्सक छायामा पर्नुभएको छ,’ उनले भने, ‘राष्ट्रको ढुकुटी पनि बर्बाद नहोस् । पैसा हुनेले सामान्य रोगका लागि पनि उपचार गर्नका लागि बाहिर गएर उपचार गर्न जान नपरोस् भन्नका लागि स्वदेशमा नै उपचारको व्यवस्था मिलाउनेछौँ ।’

कुनै शीर्ष नेतालाई केही उपचारमा गर्नुपरे विशेषज्ञ सेवासहितको चिकित्सकको समूह रोग पहिचान गर्ने र उक्त रोगका उपचार स्वदेशमा गर्न सकिन्छ/सकिँदैन भन्ने निक्र्यौल गर्नेसमेत उनले बताए ।

‘चिकित्सकको समूहले के रोग हो भन्ने थाहा पाइसकेपछि रोगको उपचार यही हुन्छ भने स्वदेशमा गर्ने व्यवस्था गरिनेछ,’ उनले भने, ‘जनुसुकै नेता तथा उच्च ओहोदाका व्यक्ति बिरामी पर्नुभयो भने हामी पनि सम्पर्क गर्छौँ ।’

नेता बिरामी पर्नेबित्तिकै एयर एम्बुलेन्स नै लिएर जाने प्रचलन रहेको भन्दै मन्त्री बस्नेतले आफू आइसकेपछि १६ वटा केन्द्रीय अस्पतालका तीन हजार ५२३ सामान्य शय्या विपन्नका लागि निःशुल्क गरिएको जानकारी गराए । कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आफूले वीर अस्पतालबाट ७०० शय्या विपन्नका लागि निःशुल्क गराएको बताए ।

अहिले निःशुल्क सामान्य शय्या कोसी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताललगायत १६ केन्द्रीय अस्पताल र प्रतिष्ठानमा गरिएको छ । निजी अस्पतालले पनि गरिब र विपन्नका लागि १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने नियमलाई कडाइ गर्दै लगिएको उनले बताए ।

सबै सरकारी अस्पतालमा सामान्य शय्या निःशुल्क गरिएपछि र निजी अस्पतालले पनि १० प्रतिशत शय्यामा विपन्नलाई उपचार निःशुल्क दिने भएपछि गरिब, विपन्नको उपचारको धेरैजसो समस्या समाधान हुने मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले वित्त रणनीति र स्वास्थ्य क्षेत्र रणनीति पारित गरेर स्वास्थ्य क्षेत्रका सुधारका काम भइरहेको बताए । उनले अस्पतालको उपकरण खरिद प्रक्रियामा हुने अनियमितता रोक्न विज्ञ समूह गठन गरी काम भइरहेको जानकारी दिए । क्यालेन्डर बनाएर स्वास्थ्य क्षेत्रमा योगदान गरेका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर