नेपालका कम्युनिष्ट शीर्ष नेताहरू देशबाहिर, सी चिनपिङका विश्वासपात्रसहितकाे जम्बो टोली काठमाडाैंमा

नेपालमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का नेताहरूको भ्रमण बाक्लिएको छ। यही क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेतासहितको जम्बो टोली नेपाल आएकाे छ।

नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू देशबाहिर रहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा छोङछिङ सहरका पार्टी प्रमुख एवं सचिव युआन च्या च्युन नेतृत्वको २६ सदस्यीय टोलीको नेपाल आगमन भएकाे हाे।

तीन दिने भ्रमणका लागि उनीहरू आइतबार मध्यान्ह काठमाडाैं आइपुगेका हुन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङ र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरेका छन्।

नेता युआनसहितको टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछ। टोलीका अरू सदस्यका लागि म्यारियट होटलमा बस्ने प्रबन्ध मिलाइएको बताइएको छ।

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आएकाे हाे। यस्तै लिउपछि बिहीबार चिनियाँ कम्युनिष्ट पार्टीको छोङछिङ सहरका परराष्ट्र मामिला उपनिर्देशक झाउ यी नेतृत्वको एक टोली नेपाल आएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको नेपाल भ्रमणकै समय नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू भने देशबाहिर छन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटलीको औपचारिक भ्रमणमा निस्किएका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा छन्। यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आइतबार इन्डोनेसिया जाँदैछन्।

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको नेपाल भ्रमण सकिँदासम्म पनि नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू भने देशबाहिर नै हुनेछन्।

प्रधानमन्त्री प्रचण्ड साउन १२ गते, एमाले अध्यक्ष ओली साउन १० गते मात्रै स्वदेश फर्कने कार्यक्रम छ।

यसअघि नेता युआन नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट्ने तय भएको थियो।

तर, हाल यी चार शीर्ष नेतामध्ये कांग्रेस सभापति देउवा मात्र देशभित्र छन्।

नेता युआन नेतृत्वको टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सभामुख देवराज घिमिरेसँग भेट गर्ने तयारी छ।

नेपाल आएका नेता युआन चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनपिङका विश्वासपात्र हुन्। उनलाई यसअघिका नेता बो सिलाईलाई विस्थापित गरेर नेतृत्वमा ल्याइएको हो। बो भने चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वसँग टकरावपछि हाल जेलमा छन्।

निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदैछन्। यहीबीच चिनियाँ कम्युनिष्ट नेताहरूको बाक्लिँदो नेपाल भ्रमणलाई कतिपयले शंकाका साथ हेरेका छन्।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बढाउन अनेक प्रयास गरिरहेको चीनले प्रचण्डको चीन भ्रमणअघि नेपालका कम्युनिष्टहरूबीच एकता गराउन चलखेल गरिरहेको कतिपयकाे तर्क छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *