सुदूरपश्चिममा एक लाख १२ हजार सवारी साधन कारबाहीमा

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारी साधन कारबाहीमा परेका हुन् ।

एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा छ करोड ४३ लाख ७० हजार रूपैयाँ राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् ।

मोटरसाइकलबाट दुई करोड ५३ लाख ३७ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको छ ।

एक वर्षको अवधिमा २६ हजार तीन सय ३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार चार सय ६१ ट्र्याक्टर, पाँच हजार तीन सय ३७ बस र आठ हजार सात सय ७९ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।
सवारी साधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १५ हजार पाँच सय ४८ सवारी साधन बढी कारबाहीमा परेका देखिन्छन् । यसबाट एक करोड एक लाख ७६ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा ९७ हजार एक सय सात सवारीसाधन कारबाहीमा पर्दा रु पाँच करोड, ४१ लाख, ९४ हजार राजस्व संकलन भएको थियो ।
यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा तीन हजार छ सय ४६ जनालाई कारबाही भएको छ । उक्त कारबाहीबाट ३६ लाख ४७ हजार रूपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा एक हजार छ सय ८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख ८६ हजार रूपैयाँ राजस्व संकलन भएको थियो ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ५२ सवारी दुर्घटना भएका छन् । दुई सय ५२ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक सय ९७ जना गम्भीर घाइते भएका छन् भने दुई सय ७६ जना सामान्य घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाको मृत्यु भएको थियो भने तीन सय ९५ जना गम्भीर घाइते र छ सय छ जना सामान्य घाइते भएका थिए । ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियमविपरीत हिँड्ने सवारी साधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सवारी साधन कारबाहीमा पर्ने क्रम बढ्दै जानुलाई नागरिकको लापरबाही बढ्दै गएको बुझिने सरोकारवाला बताउँछन् । टीकापुरका लक्ष्मी जैसी सवारीसाधन कारबाहीमा पर्नु भनेको ट्राफिक नियम पालना गर्दैनन् भन्ने बुझाइ हो भन्छन् । ‘प्रहरीले सचेतना अभियान चलाइरहेको छ । नागरिकले पनि सवारी चलाउने भएपछि नियम जानेको हुनुपर्छ,’ उनी भन्छन्, ‘तर हरेक वर्ष दुर्घटना बढ्दै जानु राम्रो मानिँदैन । सवारी चलाउने हरेक मानिस सर्तक हुन आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर