#ठोकोताली

कूटनीतिक रनभुल्लमा प्रधानमन्त्री ‘प्रचण्ड’

महासभामा इतिहास बनाउने कि खेलकुद मञ्चमा सम्बन्ध?

सन् २००८, सेप्टेम्बर २६ । संयुक्त राष्ट्रसंघको ६३ औं महासभामा धेरैको नजर एक जना पात्रमा अडिएको थियो । नेपालमा १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई विभिन्न कोणबाट हेरेको र बुझेको विश्वका नेताहरूका लागि ती पात्र आधुनिक विश्वले इतिहासमा पढ्न थालेको ‘गुरिल्ला युद्ध’ का सर्वोच्च कमाण्डर थिए । विश्वमा कम्युनिष्ट शासन व्यवस्थालाई बिस्तारै ‘बाय-बाय’ भनिरहेका देशहरूका लागि उनी २० औं शताब्दीमा त्यही व्यवस्थाका लागि लडेका पात्र थिए ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि प्रचण्ड बहुमतका साथ सत्तामा पुगेको तत्कालीन विद्रोही नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ६३ औं महासभाको सेसनका आकर्षण बनेका थिए ।

उनको सम्बोधन धेरैले बडो रूचिपूर्वक सुने पनि । अन्य देशका नेताको भन्दा उनको भाषण केही लामो र केही क्रान्तिकारी थियो ।

‘विश्वको सबैभन्दा नयाँ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा यस सभालाई  सम्बोधन गर्न पाउनु वास्तवमा यो मेरो लागि ऐतिहासिक अवसर हो । यहाँ विश्वका नेताहरूसम्रक्ष म भन्न चाहन्छु,  म र मेरो पार्टीले आम जनताको मुक्तिको लागि एउटै सोचका साथ गरेको लामो संघर्ष पुरानो दमन, वञ्चितता, सीमान्तीकरण र विगतमा विद्यमान राजनीतिक व्यवस्था उल्टाएर देशका नागरिकको मुक्तिका लागि थियो । नेपालको राजनीतिक इतिहासका लागि म र मेरो पार्टीलाई गर्व छ र मेराे पार्टी त्यो परिवर्तनका लागि सकारात्मक ऐतिहासिक प्रमुख शक्ति थियो,’ महासभामा उनको सम्बोधनको सुरूवात यसरी भएको थियो ।

करिब आधा घण्टा लामो त्यो सम्बोधनमा प्रचण्डले देश र जनता तथा नेपालको विश्व सम्बन्धदेखि संयुक्त राष्ट्रसंघसँग नेपालको सहकार्यका विविध विषयमा बोलेका थिए ।

उनै दाहाल यतिबेला तेस्रो पटक देशको प्रधानमन्त्री छन् । र, उनलाई संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको निम्तो छ । संयुक्त राष्ट्रसंघको महासभाको बैठक सेप्टेम्बर १२ देखि २६ सम्म हुने भएको छ । तर, केही दिनदेखि सार्वजनिक भइरहेका समाचारहरूमा प्रधानमन्त्री दाहाल यूएनको महासभाभन्दा चीनको औपचारिक भ्रमणमा रूचिकर रहेको अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री दाहालको चाहना वा इच्छालाई संकेत गर्ने एउटा महत्त्वपूर्ण भेट बिहीबार भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले बिहीबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरे ।महामहिम डिनको यो भेटको अन्तर्य भनेको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभाको बैठकमा प्रधानमन्त्री सहभागी हुने वा नहुने भन्ने निश्चित गर्नु थियो ।

महामहिम डिनले अन्य द्विपक्षीय मुद्दाका साथै न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको योजनाका बारेमा जानकारी लिन खोजेका थिए । कारण थियो, प्रधानमन्त्री दाहालको चीन भ्रमण संयोगवश वा योजनाबद्ध रूपमा चीन भ्रमणको मितिसँग जुधेको छ । महामहिम डिनलाई प्रधानमन्त्री न्यूयोर्क पुगेमा उनलाई अमेरिकाका शीर्ष नेता तथा अधिकारीहरूसँग साइडलाइन भेट्ने  वातावरण बनाउने जिम्मेवारी पनि छ ।

तर, प्रधानमन्त्री दाहाल सोही समयमा चीनको हाङ्जाओ सहरमा हुन लागेको १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन चीन जाने योजनामा छन् । खेलहरू सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।

उता, न्यूयोर्कमा रहेको नेपालको स्थायी नियोगले यसअघि नै प्रधानमन्त्रीको नाम वक्ताको सूचीमा दर्ता गराएको थियो र सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको बिहानको बैठकलाई सम्बोधन गर्ने पक्का भएको थियो ।

अब यी दुई कार्यक्रमको मिति विवादमा परेपछि नेपाली पक्षले न्यूयोर्कमा प्रधानमन्त्रीको सम्बोधनलाई पूर्वनिर्धारित गर्न नसके प्रधानमन्त्रीले न्यूयोर्क भ्रमण छाडेर चीनको हाङ्जाओमा हुने एसियाली खेलकुदमा सहभागी हुने सोच बनाएको बताइएको छ ।

यतिबेला कूटनीतिक अधिकारीहरू प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने वातावरण बनाएर उतैबाट चीन उडाउने तारतम्यमा जुटेका छन् । अंग्रेजी दैनिक द काठमाडौं पोस्टका वरिष्ठ पत्रकार अनिल गिरीको ब्रेकिङ समाचारले पनि यसैतर्फ संकेत गरेको छ ।

प्रधानमन्त्री दाहाल स्वयंले डेढ महिनाअघि संसद र टेलिभिजन अन्तर्वार्तामा आफू चीन र अमेरिका जाँदै गरेको बताएका थिए । यसले उनी दुवै देश जाने चाहनामा रहेको बुझिन्छ । तर, प्रधानमन्त्रीको कार्यतालिका, निम्तो र भ्रमण व्यवस्थापन गर्ने सचिवालय र कूटनीतिक नियोगको भुलचुकले अब नुनचुकको अवस्थामा रहेका अमेरिका र चीनबीचको द्वन्द्वको बाछिटाले सिंहदबार पनि भिजाउने देखिन्छ ।

प्रधानमन्त्री दाहालकै शब्दमा ‘आमूल परिवर्तन, तार्किक रूपान्तरण र अग्रगामी छलाङ’ जे भने पनि उनी जंगलबाट सिंहदरबार छिरेपछिका १५ वर्ष देशले भोगेका आरोह-अवरोहमा विश्वको सहयोग र बुझाइ बुझ्न उनका लागि यो अवसर हो । यो नेपाली नागरिकको प्रतिनिधित्व र प्रचण्ड चाहना पनि हो ।

देशमा बढेका विविध समस्या, त्रिदेशीय अपराध, शान्ति कार्यमा नेपालको भूमिका र ढल्कँदै गरेको शक्तिकेन्द्रको सुईका बीच नेपालको सामरिक तथा रणनीतिक महत्त्वका साथै बाटोका विषयमा ‘क्रिस्टल क्लियर’ गर्ने मञ्च संयुक्त राष्ट्रसंघको महासभा नै हो, जहाँ देशका राजादेखि लगभग सबै प्रधानमन्त्रीले सम्बोधन गरेका छन् ।

अझ, गणतन्त्र नेपालमा प्रधानमन्त्रीका रूपमा दुई पटक र उपप्रधानमन्त्रीका रूपमा एक पटक केपी शर्मा ओलीले महासभालाई सम्बोधन गरेका छन् । यसपटक प्रधानमन्त्री दाहाल सहभागी भए उनी र नेकपा एमाले अध्यक्ष ओलीबीच ‘बराबर’ हुनेछ ।

अब हेरौं, प्रधानमन्त्री दाहालले राष्ट्रिय चाहनाअनुसार संयुक्त राष्ट्रसंघको महासभा रोजेर न्यूयोर्क जान्छन् कि खेलकुदको रिबन काटेको हेर्न चीन, निर्णय उनकै पोल्टामा छ ।

अब गए जाऊन्, नगए नजाऊन् भन्न पनि नसकिने होइन त? कि कसो त ?

#ठोकोताली!

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर