#ठोकोताली

भारतलाई पाइला-पाइलामा हिसाब, चीनको लगानी बेहिसाब !

हालै नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर भारतका विदेश मामिलामन्त्री डा. एस जयशंकर फर्किए । उनको यसपटकको नेपाल भ्रमण विश्लेषकहरूले विवादरहित र सफल भएको टिप्पणी गरे ।

तर पनि नेपालमा भारतले ल्याएका कुनै पनि कार्यक्रमको विरोधका लागि विरोध गर्ने परम्पराको निरन्तरता रोकिएन । केही व्यक्तिहरूले नागरिक समाज र नागरिक अगुवाका नाममा भारतको सामुदायिक विकासमा उच्च प्रभाव पार्ने आयोजना (एचआईसीडीपी) मार्फत लगानीको सीमा २० करोड रूपैयाँ गर्ने भन्ने विषयमा चर्को विरोध गरे । उनीहरूले यो रकम दूतावासले सोझै आफूले चाहेको व्यक्ति र संस्थामा खर्च गर्ने र यसले राष्ट्रवाद कमजोर हुने भाष्य स्थापित गर्न खोजे ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा उपस्थित भएर भारतले गर्ने लगानी, त्यसको प्रक्रिया र सम्झौताअनुसारको कानुन र प्रावधानका विषयमा स्पष्ट पारे । प्रधानमन्त्री दाहालले समितिमा दिएको जानकारीअनुसार यो लगानीमा भारतलाई कुनै पनि अधिकार दिइएको छैन ।

नेपालमा भारतले मात्र होइन द्विपक्षीय सम्बन्ध भएका धेरै देशहरूले दूतावास र उनीहरूका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत सहयोग र लगानी गरिरहेका छन् । उनीहरूका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । तर, भारतले गर्दा यहाँ राष्ट्रवाद नै कमजोर हुने दलिल पूर्वप्रधानमन्त्री झलनाथ खनालसम्मले गरे । तर, उनै खनालले भारतको एचआईसीडीपी परियोजनाअन्र्तगत सहयोग लिएको बिर्सिए ।

यही बहसका बीच नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार आफ्नो सामाजिक सञ्जाल एक्स (पहिलाको ट्विटर) मा एउटा पोष्ट गरेका थिए । पोष्ट थियो- चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सीएफआरडी) को सहयोगमा काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलो ब्याचको तरकारी बिक्रीको उद्घाटन समारोहको ।

यो पोष्ट त्यतिबेला आयो, जब संसद, सरकार र सामाजिक सञ्जालमा भारतको सामुदायिक विकासमा उच्च प्रभाव पार्ने आयोजना (एचआईसीडीपी) मार्फत लगानीको सीमा २० करोड रूपैयाँ गर्ने भन्ने विषयमा चर्को बहस भइरहेको थियो ।

नेपालमा पछिल्लो समय चीनले समेत समुदायमै पुगेर आफ्ना परियोजनाहरू सञ्चालन गरिरहेको छ । चीनका राष्ट्रपति सी चिनपिङको महत्त्वाकाक्षी अवधारणा ग्लोबल डेभलेपमेन्ट इनिसियटिभमार्फत चीनले भारतसँग सीमा जोडिएका जिल्लाहरूमा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । उसका यी परियोजनासमेत २० करोड रूपैयाँकै हाराहारीमा छन् । अझ नेपालमा २०७२ सालको भूकम्पमा सहयोगका लागि स्थापना भएको संस्थाको नाम परिवर्तन गरेर चीनले गाउँगाउँमा आफ्नो सञ्जाल विस्तार गरिरहेको छ ।

चीनको चाइना फाउण्डेसन फर पवर्टी एलिभेसन (सीएफपीए) का नाममा सुरूआत भएको संस्थाको नाम परिवर्तन गरिएको दूतावासका अधिकारीको भनाइ छ । उनीहरूको भनाइअनुसार पुरानो सीएफपीए नै हालको सीएफआरडी हो ।

चीनको स्टेट काउन्सिल मातहत रहेको यो संस्था आफूलाई विश्वमा सबैभन्दा राम्रो विश्वसनीय, सबैभन्दा राम्रो अपेक्षित र सबैभन्दा राम्रो सम्मानित अन्तर्राष्ट्रिय परोपकार मञ्च बनाउने लक्ष्य राखेको बताउँछ ।

यसअन्तर्गत यो वर्ष खानेपानीको क्षेत्रमा काम गर्ने भनेर दुई करोड ७६ लाख रूपैयाँभन्दा धेरै लगानी ग्रामीण विकास महिला केन्द्र (आरडब्ल्यूडीसी) र न्यु लाइट फाउण्डेसनमार्फत खर्च गर्ने उल्लेख छ । यस्तै गत वर्ष मात्र सीएफपीएकै नाममा भारतसँग सीमा जोडिएका महोत्तरी, सप्तरी, सर्लाही, नवलपरासी, बर्दिया, बाँकेसहित चितवन, पर्वत, स्याङ्जा, गुल्मी, लमजुङ, बागलुङ, दाङ, रोल्पा, जुम्ला र रूकुम पश्चिममा शिक्षामा सहयोग र मुस्कानसहितका बालबालिका र सीप विकासका नाममा करिब १९ करोड रूपैयाँ खर्च भएको छ । यस्तै सोही वर्ष ग्रामीण खानेपानीका नाममा करिब चार करोड रूपैयाँ खर्च भएको छ ।

यति मात्र होइन, नेपालमा राष्ट्रपति चिनपिङका महत्त्वाकांक्षी अवधारणाहरू ग्लोबल डेभलेपमेन्ट, ग्लोबल कल्चरल र ग्लोबल सेक्युरिटी इनिसियटिभमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चीनको प्रभाव विस्तार निरन्तर छ । यसबाहेक बेल्ट एण्ड रोड इनिसियटिभ दाबी गर्दै नेपालमा चीनले गरिरहेको ऋण लगानी सरकारबाटै गोप्य राखिएको छ ।

भारतले मुस्ताङमा समुदायको मागअनुसार बौद्ध विश्वविद्यालयमा सहयोग गर्न खोज्दा चीनको सुरक्षामा असर पुग्ने बताउने पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतीय सीमा नजिक दमकमा चीनको ऋण लगानीमा औद्योगिक ग्राम (चीन-नेपाल क्लिन पार्क) निर्माणमा जोड दिइरहेका छन् ।

चीनले नेपालमा गरिरहेको लगानी मात्र होइन, उसले गाउँगाउँमा पुगेर गरिरहेको प्रभाव विस्तारको लेखाजोखा सरकार र नागरिक समाजले गर्न सकेका छैनन् ।

अहिले नेपालमा सक्रिय भएको चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट सन् १९८९ मा स्थापना भएको हो । हाल नेपाल, म्यानमार र इथोपियामा कार्यालय रहेको यसको मुख्य एजेण्डा भनेको आफ्नो प्रभाज विस्तार, चीनको जयजयकार र राष्ट्रपति सी चिनपिङको तारिफ गर्नु/गराउनु रहेको कोही कसैबाट लुकेको छैन ।

यसलाई चीनका पूर्वप्रधानमन्त्री चाउ एन लाइको नाममा स्थापना भएको एनलाई फाउण्डेसनमार्फत तालिम, सहयोग र विस्तार गर्ने हो । यस्तै यहीमार्फत साउथ एसिया सेन्टर फर साउथ-साउथ कोअपरेसन फर पवर्टी एलिभेसनलाई सक्रिय बनाउनु हो । यसैमार्फत चीनले नेपालका राजनीतिक, सामाजिक अगुवा, संसद र पत्रकारसम्मलाई चीनमा घुमघामको प्रबन्ध गर्छ । यस्तै आफूअनूकल चीनको कम्युनिष्ट पार्टी (सीसीपी) का नेता, बुद्धिजीवी तथा स्टेट काउन्सिलकै पदाधिकारीसम्मलाई नेपाल भ्रमण गराइन्छ ।

चीनले अफ्रिका र एसियाका गरिब देशहरूमा प्रभाव विस्तारका लागि यही संस्थालाई सक्रिय बनाउने अनि ऋण लगानीमार्फत दीर्घकालीन नीति तथा योजनामा आफ्नो प्रभाव कायम राख्ने रणनीति लिएको छ । विश्वमा उसले गरेको ऋण लगानीको हालको अवस्था श्रीलंका, पाकिस्तान र अफ्रिकाका विभिन्न देशबाट स्पष्ट भइसकेको छ ।

नेपालमा चीनका यस्ता रणनीतिक र दीर्घकालीन प्रभाव भएका कार्यक्रममा नागरिक अगुवादेखि संसद र सरकारका उच्च अधिकारीसम्मको शंकास्पद मौनताले नेपालले दुवै छिमेकीसँगको सम्बन्ध विस्तारभन्दा क्षणिक लाभको आत्मरतिमा रमाइरहेको भान आम नागरिकले गर्न थालेका छन् ।

सीआरएफडी र एनलाई फउण्डेसनको लगानी तथा कार्यक्रम, उसको खर्चको पारदर्शिता र उसको मुख्य उद्देश्यका विषयमा छानबिन गर्नुपर्ने माग एउटा समूहले गरेको पनि हो । तर, सरकारले यसमा चासो नदिएको उनीहरूको गुनासो छ ।

चीनको लक्ष्य, उसको भित्री चाहना र उसका रणनीति अब विश्वसामु घाम जत्तिकै छर्लंग भइसकेको छ । उसले द्विपक्षीय सम्बन्ध र सहयोगको आवरणमा व्यापार र ऋण लगानी गरिरहेको छ । नेपालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यसको नमुना मात्र हो ।

अब पनि उसको महत्त्वाकांक्षा र रणनीति नबुझी एकोहोरो भारतलाई मात्रै सत्तोसराप गर्ने कि चीनको लगानी र कार्यक्रमका विषयमा नागरिकहरूलाई जानकारी गराउने मान्यवर ? त्यसो त, हाम्रो देशको एउटा समाज गलत विषय व्याख्या गर्ने योजनाका लागि राम्रा व्यापारी भएका छन् । तर पनि अब नागरिक नै सचेत हुने कि ? आलु, गोलभेँडा, काउली र सागभित्र लुकेको चिनियाँ रणनीति अब नबुझे कहिले ? र, हामीले नबुझे कसले त ? होइन त, कि कसो त ?

#ठोकोताली !

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *