गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।

उक्त सहमतिपत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रूपसागर देवीले हस्ताक्षर गरेका छन् । सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।

यी हुन् सहमति :
१. उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने

२. मिति २०६३ चैत्र ७ गतेको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने, उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृतकहरूका हकमा शहीद घोषणाको प्रक्रिया अगाडि बढाउने

३. गौर घटनामा परी मृत्यु भएका व्यक्ति (शहीद) हरूको स्मृतिमा रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आवमा अगाडि बढाउने

४. उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने

५. सो घटनाको छानबिन र कारबाहीको मागसहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गरेका आन्दोलनका सबै कार्यक्रम तत्काल अन्त्य गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर