पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन्।

भोजपुर-पौवादुङ्मा सेवा समाज काठमाडौंद्वारा शनिबार आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ-संस्थाहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए।

सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो।

यस क्षेत्रका विज्ञ एवं जानकारहरूले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन्।

पर्यटन मन्त्रालयले पनि विभिन्न समयमा पर्यटन ऐनको मस्यौदा तयार गरेर चरणबद्ध छलफल गर्दै आएको थियो। पर्यटनमन्त्री किरातीले विज्ञ सरोकारवालाको राय सुझाव लिएर पर्यटन ऐन बनाइने उल्लेख गरे।

‘पर्यटन क्षेत्रको समयसापेक्ष विकासका लागि पर्यटन ऐन बनाउँदैछौं, आइतबारदेखि एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्छु,’ उनले भने।

पर्यटनमन्त्री किरातीले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने बताए।

उनले प्राकृतिक र सांस्कृतिक रूपमा समृद्ध रहेको भोजपुरको इतिहास र समग्र विकासलाई केन्द्रविन्दुमा राखेर विकासको ढाँचा बनाइनुपर्ने तथा त्यसलाई देश विकासको नयाँ ढाँचाको रूपमा स्थापित गर्नसकिने दाबी गरे।

भोजपुरको टक्सारको संरक्षण, सांस्कृतिक गाउँ, संग्रहालयको अवधारणा अघि सारिएको र यसका लागि सबैको सहयोग तथा सहकार्य चाहिने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर