सुन तस्करी प्रकरणमा पक्राउ व्यापारी अडुकिया र दुई चिनियाँ नागरिक रिहा

एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका व्यापारी रोहन अडुकिया र दुई चिनियाँ नागरिक रिहा भएका छन्।

अडुकिया र चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयान आज रिहा भएका हुन्।

तीनै जनाको संलग्नता नदेखिएका कारण उनीहरूलाई रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

कडायतका अनुसार आवश्यक परेका बेला उपस्थित हुने गरी उनीहरूलाई रिहा गरिएको हो।

उनीहरू तीनै जना शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। दुई चिनियाँ नागरिक बिहान र व्यापारी अडुकिया दिउँसो पक्राउ परेका थिए।

रोहन सुन तस्करीको मुख्य योजनाकारका रूपमा शंका गरिएका व्यापारी राकेश अडुकियाका छोरा हुन्। राकेश अहिले फरार छन्।

राजस्व अनुसन्धान विभागले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो।

प्रवक्ता कडायतले भने, ‘अध्यागमन विभागले नाम जुधेर शंका लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता नदेखिएपछि रिहा भएका छन्।’

यस्तै रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए। तर, उनको संलग्नता खुल्ने आधारहरू नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर