प्रहरीले ६ वर्षदेखि खोजी गरेका हत्या आरोपी केन्द्रीय कारागारमै भेटिएपछि…

काठमाडौंको बल्खुमा ६ वर्षअघि एक महिलाको हत्यापछि फरार अभियुक्त जेलमै भेटिएका छन्।

वास्तविक नाम शिवराम अधिकारी रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३, तल्लो पोखराका ४६ वर्षीय उनी अर्कै नाममा केन्द्रीय कारागार सुन्धारामा चोरी मुद्दामा कैद भुक्तान गरिरहेको भेटिएका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई केन्द्रीय कारागारमा अर्जुन अधिकारी नाममा कैद भुक्तान गरिरहेको फेला पारेको हो।

अभियुक्तसम्म यसरी पुग्यो प्रहरी
२०७४ पुस ३० गते मकवानपुरको मनोहरा गाउँपालिका-३ की ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना मृत फेला परेकी थिइन्।

ज्यामी काम गर्ने उनको त्यसको अघिल्लो रात हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको थियो। टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा बल्खुको भुवनेश्वर मन्दिर पछाडि उनको शव फेला परेको थियो।

मृतकको शरीर खानतलासी गर्दा सानो किप्याड मोबाइल फेला परेको थियो। उक्त मोबाइलमा आफन्तको नम्बर फेला परेपछि आफन्तले शवको सनाखत गरेका थिए।

घटना घटेको दिन मृतकसँग बारम्बार फोन सम्पर्क भएका नम्बरहरूको अनुसन्धान गर्दै जाँदा बढी समय फोन सम्पर्क गर्ने व्यक्ति नारायणीसँगै ज्यामी काम गर्ने शिवराम अधिकारी भएको खुलेको थियो।

प्रहरीले शिवराम अधिकारीको खोजतलास गर्दा घटनापछि उनी फरार रहेको पाइएको थियो।

प्रहरीले परिवारका सदस्यसँग भेटी शिवरामका बारे बुझ्दा २०७४ पुस २९ गतेदेखि घर नआएको र परिवारका सदस्यलाई फोन सम्पर्क पनि नगरेको जानकारी गराएका थिए।

घटनापछि शिवराम उदयपुरको कटारी गएर बसेका थिए। केही दिनपछि उनी सिराहाको मिर्चैयामा देखा परेका थिए।

त्यसको केही दिनपछि मकवानपुर पुगे र त्यहाँबाट धादिङको सल्यानटार गएका थिए।

घटनापश्चात् प्रहरीको निरन्तर खोजतलासका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ पुगेको थियो। तर, उनी फेला परेनन्।

निरन्तर खोजतलास गर्ने क्रममा पछिल्लो समय उनी काठमाडौंको रामकोट क्षेत्रमा तरकारी टनेल सञ्चालन गर्दै आएको सूचना प्रहरीले पाएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली सो क्षेत्रमा गई स्थानीयलाई शिवरामको फोटो देखाएर सोधखोज गरेको थियो। स्थानीयले हाल उनी देखा नपरेको भन्दै उनका परिवार रहेको टहरा र टनेल देखाइदिएका थिए। तर, उनी त्यहाँ पनि भेटिएनन्।

शिवराम यसरी बने अर्जुन
अनुसन्धान गर्दै जाँदा शिवरामकी श्रीमती नानीमाया अधिकारीले कारागारमा निरन्तर सम्पर्क गरेको देखियो। त्यसपछि प्रहरीको अनुसन्धान केन्द्रीय कारागारतर्फ सोझियो। उनका बारे बुझ्दै जाँदा उनी अर्जुन अधिकारी नानीमायाले फोन गर्ने व्यक्ति अर्जुन अधिकारी भन्ने बुझियो।

अर्जुन अधिकारी भनिएका व्यक्तिको बारेमा प्रहरीले आफन्तसँग सोधखोज गर्‍याे। आफन्तमार्फत नै उनी थानकोटमा चोरी गर्दा पक्राउ परी केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको खुलेको हो।

केन्द्रीय कारागारमा प्रहरीले पत्राचार गरी उनको बारेमा जानकारी माग गरेको थियो।

कारागारले २०७९ कात्तिक ६ गते चोरी गर्दागर्दै थानकोट प्रहरीले पक्राउ गरेको र २०७९ कात्तिक २९ गते नकवजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएपछि उनी कैद भुक्तानका लागि केन्द्रीय कारागारमा रहेको जानकारी दिएको थियो।

कारागारबाट अर्जुन अधिकारीको फोटो झिकाई उनकी श्रीमती र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रतिनिधिबाट समेत सनाखत गराउँदा उनी अर्जुन अधिकारी नभई शिवराम अधिकारी रहेको खुलेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीविरूद्ध पीडित पक्षको जाहेरीसमेत लिएर उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर