सहकर्मी कुट्ने सशस्त्रका इन्स्पेक्टरमाथिको अनुसन्धान कहाँ पुग्यो?

झापामा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहितले  सहकर्मी कुटपिट गरेको घटना छानबिनका लागि गठित समितिले छानबिन प्रतिवेदन बुझाएको छ।

समितिले घटनाको छानबिन गरी सशस्त्र प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाएको हो। सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले समितिको प्रतिवेदन हेडक्वार्टरमा आएको जानकारी दिए।

‘छानबिन प्रतिवेदन हेडक्वार्टर आएको छ, अध्ययन गर्ने काम भइरहेको छ,’ एसएसपी खड्काले पर्दाफाससँग भने।

गत जेठ ३० गते राति झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि इन्स्पेक्टरसहितको समूहले कुटपिट गरेको घटना बाहिरिएको थियो।

इन्स्पेक्टर नमप्रभाव राई, जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोला कुटपिटमा संलग्न आरोपमा निलम्बनमा परिसकेका छन्।

उनीहरूको कुटपिटबाट बोर्डर आउट पोष्ट नकलबन्दामा कार्यरत वरिष्ठ हवल्दार पासाङ तामाङ, हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशी घाइते भएका थिए।

घटना छानबिनका लागि सशस्त्र हेडक्वार्टरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम र इन्स्पेक्टर राई कार्यरत बराह बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विक्रम हुमागाईंको नेतृत्वमा समिति गठन गरेको थियो।

सो समितिले तयार पारेको प्रतिवेदन अध्ययन भइरहेको र त्यसपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने एसएसपी खड्काले बताए।

सशस्त्र प्रहरी बल, नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोसाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका सिपाही-हवल्दारलाई कुटपिट गरेका थिए। कुटपिट गरेको देखेपछि स्थानीयले प्रतिकार गरेका थिए।

इन्स्पेक्टर राई नाताले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईका भतिजा हुन्। उनी बराह बाहिनी सुनसरीबाट घुमुवाको रूपमा सूचना संकलन गर्न खटिएका थिए। उनीसँगै सादा पोसाकमा प्रहरी जवान रामसुन्दर तामाङ र जीवन बाँस्तोला पनि झापा पुगेका थिए।

उनीहरूले दिनभर मादक पदार्थ सेवन गरेर राति झापाको सीमामा रहेका ६ वटा बीओपीका १५ जना प्रहरीलाई पानीमा चोबल्दै बाँसको भाटाले हिर्काएको आरोप छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *