साहित्य

‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ को दोस्रो संस्करण १५ भदौदेखि

‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ को दोस्रो संस्करण भदौ १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरू जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुन लागेको हो। आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकहरूको सहभागिता रहने जनाएको छ।

महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र छलफल गरिनेछ। भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता दिग्गजहरू सहभागी हुनेछन्। यस्तै, प्रख्यात अभिनेत्री तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डा कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका छन्।

बलिउड सिनेमामा अभिनय गरेर ख्याती कमाएकी अभिनेत्री मनीषा कोइराला पनि महोत्सवमा सहभागी हुनेछिन्। मनीषाका साथमा नेपालबाट सुरक्षा पन्त, गौरी मल्ललगायत अभिनेत्रीहरू महोत्सवमा सहभागी हुँदै छन्।

त्यसैगरी, भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बंगलादेशका असरफ ज्वेलसमेत वक्ताको भूमिकामा उपस्थित हुनेछन्। नयनराज पाण्डे, अमर न्यौपाने, अभि सुवेदी, चिरिबाबु महर्जन, गुरुराज घिमिरे, विद्या अधिकारी, सुमना श्रेष्ठ, काशीनाथ तमोट, चरीमाया तामाङ, शिवानी थापा, सिके लाल, महेशविक्रम शाह, रजनी ढकाल, गीता त्रिपाठी, मनीषा गौचन, आरती चटौत, त्रिरत्न मानन्धर, सृच्छा प्रधान, भोला रिजाल, नवराज केसी, रामेश कोइराला, हर्क साउदलगायतले विभिन्न सत्रमा वक्ताका रूपमा सहभागिता जनाउने आयोजकले जनाएको छ।

‘शक्ति र भक्ति-सभ्यतागत सम्बन्ध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय स्वर बनाइएको महोत्सवको यसै संस्करणबाट १२ विधामा १२ लेखकहरूलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर