राजनीति

कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरूद्ध एमाले फेरि सर्वोच्च जाँदै

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधानविपरीत प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वोच्च अदालत जाने भएको छ ।

संविधानविपरीत प्रक्रिया अपनाउँदै प्रदेशसभाबाट मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको भन्दै एमालेले आज सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने भएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले असंवैधानिक प्रक्रियाविरूद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताए ।

एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका छन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन प्रदेशसभाकी उपसभामुख सृजना दनुवार बिरामी परेको भन्दै काठमाडौं गएकी थिइन् । अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य पनि बैठकमा अनुपस्थित भएका थिए ।

त्यसपछि गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठकको अध्यक्षता अध्यक्ष मण्डलमा रहेका नेपाली कांग्रेसका सांसद इस्राइन मन्सुरीले गरेका थिए ।

विश्वासको मत लिने क्रममा मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला मन्सुरीले बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएका थिए ।

तिम्सिनाले अध्यक्षता गरेपछि मन्सुरीले थापाको समर्थनमा विश्वासको मत दिएका थिए । त्यसपछि फेरि उनले अध्यक्षता ग्रहण गरेर मतदानको नजिता सुनाएका थिए ।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरेका थिए । त्यसमा बैठकको अध्यक्षता गरेका मन्सुरीको पनि मत समेटिएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर