डोल्पाबाट बेपत्ता सेनाका मेजर अझै भेटिएनन्, सर्च अपरेशनमा सेना, सशस्त्र र प्रहरी

नेपाली सेनाको डोल्पामा तैनाथ नन्द बक्स गण अन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा खटिएका सेनानी (मेजर) विमल पण्डितको अवस्था ४८ घण्टा बित्दासमेत अज्ञात रहेको छ ।

डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गणअन्तर्गत रहेको ब्यारेकमा खटिएकाका मेजर पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बेपत्ता रहेका मेजर पण्डितको खोजी भइरहेको मंगलबार बिहान पर्दाफासलाई बताए । उनले प्राविधिक विश्लेषणसहित उनको खोजीमा फौज परिचालन भएको बताए ।

‘उहाँले घरपरिवारसँग सम्पर्क गरेको देखिएको छ, हामीसहित अन्य सुरक्षा निकायको समन्वयमा खोजी जारी छ,’ डीआईजी ढकालले पर्दाफाससँग भने ।

यस्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी शिव बुढाथोकीले मेजर पण्डितको खोजीमा सेनासहित आफुहरु बिहान पाँचबजेदेखि नै फिल्डमा रहेको पर्दाफासलाई बताए ।

‘उहाँ दुनैको भदालेस्थित ब्यारेकमा कार्यरत हुनुहुन्थ्यो, हामी उहाँकै खोजीमा फिल्डमा छौं, ‘ डीएसपी बुढाथोकीले भने ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले गुल्मपति पण्डित सम्पर्कविहीन भएको सोमबार पर्दाफासलाई बताएका थिए ।

‘उहाँ आफ्नो सुरक्षा गार्ड नलिई हिजो बेलुका त्रिपुरातिर गएको भन्ने सुन्नमा आएको छ। यहाँ नेटवर्कको समस्याले फोन नलाग्ने समस्या भइरहनाले खोजीमा समस्या भएको छ,’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए।

‘डीएसपीसहितको टोली खोजीका लागि त्रिपुरातिर गएको छ,’ उनले भने, ‘आजसम्म पनि नभेटिए छिमेकी जिल्लाका प्रहरीसँग पनि समन्वय गर्छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर