चिनियाँ राजदूतको गैरकूटनीतिक भाषण : संसदीय समितिले बोलायो परराष्ट्रमन्त्री

नेपालका लागि चीनका राजदूत छन् सोङको आपत्तिजनक अभिब्यक्तिले राष्ट्रिय राजनीति र कुटनीतिक क्षेत्र तरंगित भइरहेको छ । उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापारका विषयमा गएको शनिवार ब्यक्त गरेको सार्वजनिक मन्तब्यको बिरोध भइरहेका बेला यही विषय समेत संसदीय समितिमा छलफल हुने भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्री एनपी साउदलाई छलफलका लागि बिहीवार बोलाएको छ । उनी आउने नआउने निश्चित भइसकेको छैन् । तर समितिमा राजदूत छन्को अभिब्यक्ति लगायतका अन्य महत्वपूर्ण विषय र एजेण्डामा छलफल गर्ने तयारी समितिको रहेको छ ।

समितिका सभापति राजकिशोर यादवले पर्दाफाससँगको कुराकानीमा समितिको बैठकमा नेपालमा रहेको विदेशी कुटनीतिज्ञहरुको आचारसंहिताका विषयमा समेत छलफल हुने एजेण्डा रहेको बताए । उनले नेपालका रहेका राजदूतहरुलाई आचारसंहिता कसरी पालना गराउने भन्ने विषय लगायतका एजेण्डामा छलफल हुने बताए ।

‘हामीले परराष्ट्र मन्त्रीलाई बोलाउन सचिवालयमा भनेका छौं, सभापति यादवले पर्दाफाससँग भने, ‘विभिन्न विषयहरु छन्, डिप्लोम्याटहरुको कोड अफ कन्डक्टका विषयमा समेत छलफल हुनेछ ।’

सभापति यादवका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका र चीन भ्रमणका एजेण्डाको विषयमा बैठकका छलफल हुनेछ । यस्तै नेपालले जारी गरेको नयाँ नक्साका बिषयमा परराष्ट्र मन्त्री साउद र पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अभिब्यक्ति बाझिएको विषयमा सत्यतथ्य बुझ्ने कार्य समेत समितिले गर्नेछ ।

‘इन्स्टीच्युसनल मेमोरी कसरी राख्ने, नक्साकै विषयमा कुरा बाझिएको छ,’ उनले पर्दाफाससँग भने, ‘प्रधानमन्त्री ज्यूको भ्रमणका एजेण्डाकै विषयहरु समेत छन् । मन्त्री ज्यू आउने निश्चित भएपछि बैठक बस्छ, सबै विषयमा छलफल हुनेछ । ’

नेपालका लागि चीनका राजदूत छन् सोङले शनिवार काठमाडौंमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका थिए । उनले कार्यक्रममा कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा गैरकुटनीतिक टिप्पणी गरेका थिए।

राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक भाषामा टिप्पणी गरेका हुन्। नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने भनाइ खुलेर राखे । यस्तै नुनमा भारतको निर्भरता तोडन नेपालले नयाँ नीति बनाउन आवश्यक रहेको बताए ।

‘उदाहरणका लागि, डा रोकायाले नेपालसँगको नुन व्यापारमा भारतको एकाधिकारको उदाहरण साझा गर्नुभयो। त्यो यथार्थ हो। नेपालले आफ्नै आर्थिक नीति बनाउँदा त्यसलाई ध्यानमा राख्नुपर्छ’, राजदूत छन्को भाषणको एउटा अंशमा भनेका छन्, ‘ दुर्भाग्यवश, तपाईंसँग भारत जस्तो छिमेकी छ, तर सौभाग्यवश तपाईंसँग भारत जस्तो छिमेकी छ, किनभने भारत एक विशाल बजार हो, तपाईं ट्याप गर्न सक्नुहुन्छ ठूलो सम्भावना छ । तर, नेपाल र अन्य छिमेकीहरूप्रति भारतको नीति त्यति मैत्रीपूर्ण र नेपालका लागि त्यति हितकर पनि छैन । त्यसैले त्यसलाई हामी नीतिगत बाधाहरू भन्छौं ।’

उनले नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्दा नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गरेको समेत भाषणमा बताए । भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको उनको भनाई थियो । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छरु चिनियाँ राजदूत छन्ले प्रश्न गरे।

केही नेपाली कूटनीतिज्ञहरूले नेपाल र भारतको सम्बन्धमाथि चिनियाँ राजदूतले गरेको टिप्पणी आपत्तिजनक भएको बताएका छन् । उनीहरुले छिमेकी देशसँगको सम्बन्ध नेपालको नितान्त आन्तरिक मामिला भएकाले चीनका राजदूतले खुलेर आलोचनात्मक टिप्पणीगर्नु गैरकुटनीति भएको बताएका हुन् ।

राजदूत छन्ले नेपाल ऊर्जा क्षेत्रमा सक्षम रहे पनि उल्टै भारतबाट ठूलो पुँजीमा विद्युत आयात गरिरहेको समेत दाबी गरे

उनले नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौंको कृषि उत्पादन आयात गरिरहेको बताए।‘आर्थिक वर्षको पहिलो महिनामै नेपालले ७ अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ। यसैलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ,’ उनले भने।

उनले चिनियाँ अर्थतन्त्र नेपालको लागि राम्रो हुने दाबी गरे। नेपालले चीनको अर्थतन्त्रबाट केही सिक्नुपर्ने उनको भनाइ छ। ‘चीनको भविष्य एकदम राम्रो छ। नेपालजस्ता अति कम विकासित मुलुकहरूको अर्थतन्त्र उकास्न चीनले सहयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपालीहरूलाई मेरो सुझाव छ, नेपालको आर्थिक अवस्थाको पुनर्संरचना हुनुपर्छ। चिनियाँ अर्थतन्त्रको संरचनाबाट नेपालले केही सिक्नुपर्छ। चिनियाँ अर्थतन्त्रलाई नजिकबाट नियाल्नुपर्छ।’

राजदूत छन्ले आफूले नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुक भएको सुनेको बताए। तर यथार्थमा त्यस्तो नरहेको बताउँदै उनले चिनियाँ अर्थतन्त्रको संरचनासँग सहकार्य गर्न नेपाललाई आग्रह गरे। ‘मलाई भनिएको थियो, नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुक हो। तर अहिले नेपालले कृषि उत्पादन भारतबाट आयात गरिरहेको छ। म नेपाल सरकारलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु,’ उनले भने।

उनले नेपालमा उद्योगहरू नभएका कारण उत्पादन खुम्चिरहेको बताए।‘नेपालमा पर्याप्त उद्योग छैनन्। भएकाले पनि भारतमाथि भर पर्छन्। अनि कसरी उत्पादन हुन्छ,’ उनले भने।

उनले नेपाल र चीनबीच व्यापार घाटा भएको हल्ला फिजाइएको बताए। तर चीनले नेपाली उत्पादन निर्यात गर्न सधैं हौसला दिँदै आएको उनको भनाइ छ। ‘नेपालबाट कृषि सामग्री निर्यात गर्न चीन तयार छ। तर नेपालसँग त्यस्तो केही उत्पादन नै छैन,’ उनले भने। उनले आफू नेपाल सरकारसँग नजिक भएर काम गरिरहेको बताए।

उनको यो अभिब्यक्तिपछि नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा दीक्षितले भने, ‘चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उहाँले गर्नुभयो । यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस् भनेर भन्नुपर्छ ।’ यो उहाँले तत्कालै भन्नुपर्छ । परराष्ट्र मन्त्रालयको तहबाट नै चिनियाँ गभर्मेन्टलाई (बेईजिङ) लाई भनेर तिम्रो राजदूतले यस्तो यस्तो अभिव्यक्ति दिएको छ, यो विल्कुलै हाम्रो हितको कुरा होइन । यसको लागि तिमीले तुरुन्तै यो राजदूतलाई फर्काऊ भनेर हामीले भन्न सक्नुपर्छ ।’ दीक्षितले चिनियाँ राजदूतलाई फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई नै नेपालले पत्राचार गर्नुपर्ने बताए । उनले नेपालले चुच्चे नक्सा जारी गर्दा सबै मित्रराष्ट्रहरूलाई पत्राचार गरेको भए राम्रो हुने धारणा राखे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर