काठमाडौंमा एक्लै हिँड्ने मान्छे सुरक्षित छैनन्, प्रधानमन्त्री र गृहमन्त्रीलाई पोल्छ/पाेल्दैन? : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै आक्रमण भएको घटनाले प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता पुष्टि भएको आरोप लगाएका छन्।

थापाले बिहीवार प्रतिनिधिसभा बैठकमा बुधबार दिउँसो सहमहामन्त्रीमाथि भएको घटनालाई कांगेसले गम्भीर रूपमा लिएको भन्दै गृहमन्त्रीले काम गर्नेभन्दा सार्वजनिक खपतका लागि भाषणबाजीमै रमाएको आरोप लगाए।

उनले भने, ‘के अब हामीले काठमाडौंमा एक्लै हिँड्न पनि नहुने भएको हो? कोही जलाइदिन्छु भन्छन्, कोही खुकुरी हान्छन्। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो?’

त्यस्तै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा गैरजिम्मेवार रूपमा बोल्दै हिँड्ने गरेको भन्दै बोल्नेभन्दा काम गरेर देखाउन सुझाए।

उनले भने, ‘म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोल्दै हिँडेको सुनिरहेको छु। यसलाई छाडिने छैन, यस्तो गरिने छैन। म आग्रह गर्छु, धेरै बोल्ने होइन काम गर्ने हो। हामी परिणाममा हेर्न हेर्न चाहन्छौं।’

उनले काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति एउटा सार्वजनिक कार्यक्रमबाट फर्किदा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्छ कि पर्दैन?, भन्दै प्रश्नसमेत गरे।

त्यस्तै उनले उक्त विषय यादवको मात्रै नभएको र नेपाली समाजमा हिंसात्मक घटना र अराजकतालाई स्थान दिन खोजेको भन्दै त्यसलाई सामान्य रूपमा लिन नहुने बताए।

‘अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दैछ र कुनै न कुनै माध्यमबाट जसरी हामी यसलाई बैध वा जायज ठह¥याउने कोसिस गर्दैछौं, यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ। त्यसको बारेमा हामी सबै सचेत हुनुपर्छ,’ उनले भने।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षि रहेको नेकपा (एमाले) ले पनि यादवमाथिको घटनामा सरकारको जवाफ माग गरेको छ। एमाले सचेतक महेश बर्तौलाले उक्त घटनालाइ गम्भीर रूपमा लिनुपर्ने र सरकारले सदनमा जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘जुन प्रकारको जे परिस्थिति बन्यो, सरकारले गम्भीरताका साथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *