राष्ट्रियसभा अध्यक्षसँग अष्ट्रेलियाकी राजदूतको भेटवार्ता

अष्ट्रेलियाकाे प्रतिनिधिसभाका सभामुख नेपाल आउने

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण गायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तव्यका रूपमा रहेको अष्ट्रेलियाले छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्ने बताएका थिए ।

विद्यार्थीहरूसँगै विभिन्न पेसा र व्यवसायमा संलग्न ठूलो संख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने बताएको उनको सचिवालयले जनाएको छ ।

राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराएकी थिइन् ।

नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताएकी उनले आगामी अक्टुबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे समेत अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर