बिरामी राजदूतलाई औषधी लगिदिँदा किन कोरियामै रोकिनुपर्‍याे माओवादी नेता दीपशिखा?

यतिबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य राजप्रसाद सापकोटा उर्फ दीपशिखा दक्षिण कोरियामा रोकिएका छन्। उनीमाथि त्यहाँको अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ। आखिर एक महिनादेखि अनुसन्धान गर्नुपर्ने उनीमाथि त्यस्तो के आइपर्‍याे?

दीपशिखाका अनुसार उनी अगस्ट १० तारिखमा कोरियास्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन गएका थिए। त्यस क्रममा कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले एक वर्षदेखि नियमित सेवन गर्दै आइरहेको औषधी मगाए। दीपशिखा सो औषधी बोकेर गए। तर, डाक्टरको ‘प्रेस्क्रिप्सन’ भने लैजान बिसिए। प्रेस्क्रिप्सनबिनाको औषधी लैजान नमिल्ने भन्दै उनलाई इन्छन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारी रोके।

राजदूतले मगाएको औषधी लैजाँदा अध्यागमनमा रोकिएपछि उनलाई दूतावासले छुटाउन पहल गर्‍याे। दूतावासको अनुरोधमा दीपशिखाले प्रेस्क्रिप्सनबिनाको औषधी अध्यागमनमै छाडेर विमानस्थलबाट बाहिर निस्कने अनुमति पाए। तर, उनीमाथिको अनुसन्धान जारी नै छ।

कोरियामा रोकिएपछि सामाजिक सञ्जालमा यो विषयलाई लिएर अनेक प्रतिक्रिया आए। कसैले प्रहरीको नियन्त्रणमा रहेको भने। तर, वास्तविकता त्यस्तो नभएको दीपशाखाको भनाइ छ।

‘अञ्जानवश डाक्टरको प्रेस्क्रिप्सन मसँग नभएकाले कोरियन सरकारको भन्सारले आवश्यक डकुमेन्ट मागेकाले राजदूतावासले डकुमेन्ट बुझाइसकेको छ,’ यसबारे टीकाटिप्पणी हुन थालेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भन्सारको भेरिफिकेसन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिइएको सत्य हो।’

उनले नियतवश कुनै कमजोरी नगरेका कारण चाँडै नेपाल फर्किनेमा विश्वस्त रहेको पनि बताएका छन्। ‘आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्‍याइदिन र पीडित मलाई थप पीडा नदिनुहुन अनुरोध गर्दछु,’ उनले लेखेका छन्।

यता दूतावासले भने दीपशिखा कोरियामै रहेको र समस्या समाधान हुने क्रममा रहेको बताएको छ। मंगलबार सउलस्थित दूतावासले एक सूचना जारी गर्दै राजदूतले दीपशिखासँग मगाएको औषधी डाक्टरको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीले अनुसन्धान गरिरहेको बताएको छ।

सूचनामा भनिएको छ, ‘भन्सार अधिकारीको मागबमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा छ।’

भन्सारको भेरिफिकेसन नसकिएसम्म उनलाई कोरियाबाट नेपाल फर्किन रोक लगाइएको छ।

स्राेत : आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर