ल्हासामा प्रधानमन्त्री दाहालले भने- चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भयाे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उनले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताए ।

राष्ट्रिपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको उनको भनाइ छ ।

उनले भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको बताए ।

उनले विगतमा सञ्चालन भएका प्राय सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताउँदै नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवशायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महावाणिज्यदूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूत र दूतावासका सबै कर्मचारीलाई निर्देशन दिए । उनले नेपाल-चीनबीच भएका सहमति तथा सम्झौताहरू कार्यान्ययनका लागि सक्रिय रहन महावाणिज्यदूत नवराज ढकाललाई विशेष निर्देशन दिए ।

कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल-चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्त्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्त्वपूर्ण कामहरू र भोगिरहेको समस्यालगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । कार्यक्रममा भ्रमण दलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहेका प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहेको ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण पनि गरे ।

समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ । पोताला दरबार क्यास्टल शैलीमा निर्माण गरिएको तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुद्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरूले दरबारका बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन भ्रमण गरे । जोक्खाङ मन्दिरलाई पनि युनेस्कोले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ । यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थलका रूपमा रहेका छ । यस मन्दिरमा राखिएको शाक्यमुनी बुद्धको मूर्तिलाई भक्तजनहरूले विशेष महत्त्वका साथ सम्मान गर्ने गर्दछन् ।

मन्दिरको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरूले मन्दिरका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले गरेकाे दुबै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरू पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर