भारत-नेपाल सम्बन्धले दुई देशको आत्मालाई छुन्छ : उपकुलपति आलोककुमार राई

नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरूसँगको अन्तर्क्रियाको पहिलो दिन शुक्रबार लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. आलोककुमार राई नेतृत्वको भारतीय शैक्षिक प्रतिनिधिमण्डलले नेपालका उच्चशिक्षा संस्थाहरूसँग द्विपक्षीय शैक्षिक तथा सांस्कृतिक कार्यशालाको आयोजना गरेको छ।

सो कार्यशालामा लुम्बिनी विश्वविद्यालय र राजऋषि जनक विश्वविद्यालयका उपकुलपतिसँग भारत र नेपालबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धको सम्भावनाबारे बृहत छलफल भएको थियो।

सो अवसरमा राजऋषि जनक विश्वविद्यालय, क्वेस्ट इन्टरनेशनल कलेज, काठमाडौं डन बस्को कलेज र पोखराको नोभेल कलेजसँग शैक्षिक तथा सांस्कृतिक समझदारीपत्रमा हस्ताक्षर पनि भयो। उपकुलपति राईको प्रस्तावमा नेपालका उच्चशिक्षा संस्थाहरूले आपसी हितका क्षेत्रलाई पहिल्याउन र विद्यार्थीकेन्द्रित शैक्षिक सहकार्य गर्न सहमति जनाए।

कार्यक्रममा प्रा. राईले भारत–नेपाल सम्बन्धले दुई देशको आत्मालाई छुने बताए। उनले भने, ‘भारत–नेपाल सम्बन्धले दुई देशको आत्मालाई छुन्छ। तसर्थ हाम्रो शिक्षाले एकातिर मानव संसाधन र अर्कोतर्फ दुई देशको सामूहिक चेतनाका दिगो सम्बन्ध निर्माण गर्नेछ।’

उनले लखनउ विश्वविद्यालयले अनुसन्धान र साझा चासोको विचार विमर्शको माध्यमबाट सांस्कृतिक, शैक्षिक र वैज्ञानिक नीति निर्माणका लागि मञ्चको रूपमा भारत–नेपाल ल्याब स्थापना गर्न लगोको बताए।

उनले भने, ‘कोमल मस्तिष्कलाई बुझी त्यसलाई यो जगतलाई सकारात्मक र आनन्दित ठाँउ बनाउनेतर्फ हाम्रो शिक्षाको उद्देश्य हुनुपर्छ। यो महान उद्देश्यलाई रचनात्मक विचार विमर्शका साथ साकार पार्न सकिन्छ।’

साझेदार संस्थाहरूले लखनउ विश्वविद्यालयका प्रतिनिधिमण्डलले उठाएका विचारमा सहमति जनाउँदै शैक्षिक, वैज्ञानिक र सांस्कृतिक साझेदारीमा सहकार्य गर्न सहमति जनाए। लखनउ विश्वविद्यालयमा ठूलो संख्यामा नेपालका विद्यार्थीहरू अध्ययन गर्छन्।

उपकुलपति राईले भने, ‘हाम्रो छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्ने ‘क्षितिज समन्वय १.१’ सँगै हामी हाम्रा नेपाली साझेदारहरूसँग रचनात्मक रूपमा हातेमालो गर्न प्रतिबद्ध छौं। हाम्रो मानव संसाधन विकास केन्द्रमा हामी नेपाली साझेदारहरूका लागि तालिक र कार्यक्रम र कार्यशाला सुरू गर्नेछौं,’ उपकुलपति राईले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर