६ महिनाभित्र पोर्चुगलमा नेपाली राजदूतावास : एनआरएनए अध्यक्ष उम्मेदवार शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार आरके (राजेन्द्रकुमार) शर्माले ६ महिनाभित्र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका छन्।

सोमबार साँझ एनआरएनए पोर्चुगलका प्रतिनिधिसँग लिजवनमा अन्तर्क्रिया गर्दै उनले सो कुरा बताएका हुन्।

नेपालीहरूका धेरै समस्याहरू समाधानका लागि राजदूतावास आवश्यक भएकाले ६ महिनाभित्र स्थापना गर्न आफ्नो ठाउँबाट सक्दो भूमिका निभाउने उनको प्रतिबद्धता थियो।

‘पोर्चुगलका नेपालीले भोग्दै आएका समस्याबारेमा मलाई सबै थाहा छ। ८० दिनअघि गएको जुलाईमा तपाईंहरूसमक्ष यहीँ लिजवनमा छलफल गरेको थिएँ,’ एनआरएनएका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले भने, ‘यो बीचमा ७ पटक नेपाल गएर प्रधानमन्त्री, परराष्ट्र र श्रममन्त्रीलाई भेटेर पोर्चुगलमा राजदूतावास खोल्न आग्रह गरेको छु, अब ६ महिनाभित्र स्थापना गर्नको लागि मैले सक्दो सबै पहल गर्नेछु।’

राजदूतवास नहुँदा पोर्चुगलका नेपालीलाई कागजातलगायतमा मुख्य समस्या भएको बताउँदै शर्माले राजदूतावास खोल्नका लागि सरकारसमक्ष माग राख्दै काठमाडौंमा धर्ना बस्न पनि आफू पछि नहट्ने बताए।

पोर्चुगलमा पछिल्लो समय धेरै नेपाली भित्रिएसँगै विभिन्न समस्या थपिँदै गएको तथा निधन भएकाको शव नेपाल पठाउन पनि आर्थिक समस्या पर्दै आएकोबारे जानकार रहेको भन्दै शर्माले आफू अध्यक्ष निर्वाचित भएमा आधा रकम एनआरएनए केन्द्रले बेहोर्नेसमेत प्रतिबद्धता जनाए।

परदेशमा रहेका सबै नेपालीको साझा र एकताबद्ध एनआरएनए बनाउन आफू लागिपर्ने उनको प्रतिबद्धता थियो।

शर्माले अध्यक्ष विजयी भएमा सकेसम्म सदस्यता निःशुल्क गर्नेदेखि लिएर सबै पञ्जिकृत सदस्यले महाधिवेशनमा मतदान गर्नेसम्मका व्यवस्था गर्ने आफ्नो योजना रहेको सुनाए। नेपालका कृषि उत्पादन विदेशमा निर्यातदेखि नेपालमा लगानी प्राधिकरण गठन गर्ने र धेरै रोजगारी सिर्जना गर्न आफू लागिपर्ने उनको भनाइ थियो।

१७ अक्टुबरबाट काठमाडौंमा सरू हुने एनआरएनएको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शर्मा मतदाता भेटेर मत माग्दै युरोपका विभिन्न देशको यात्रामा छन्। शर्माले कर्मभूमि कतारमा केही दिनअघि एक कार्यक्रममार्फत वाचापत्र सार्वजनिकसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आईसीसी सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरे।

नेपालको बागलुङ जिल्लामा वि. सं. २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए। कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकाउन्टेन्टको रूपमा जागिर सुरू गरे। हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रूपमा चिनिन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर