एशियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदा भन्छन्- नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्छ

एशियाली विकास बैंकका पूर्वअध्यक्ष हारूहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको बताएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नरसमेत रहेका कुरोदाले यस्तो बताएका हुन्।

नेपालको अर्थतन्त्रका तीनवटा क्षेत्रमा आफूले सम्भावना देखेको उनले बताए। उनले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्न सके नेपालमा आर्थिक विकासले गति लिने बताए।

नेपालमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै उनले नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनुपर्ने बताए।

१० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै पूर्वगभर्नर कुरोदाले १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको बताए। ‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु, तर यहाँ आर्थिक विकसको अझै प्रचुर सम्भावना छ,’ उनले भने।

नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्रीहरू, राजनीतिक नेताहरू एवं सरोकारवालाहरुसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको स्मरण गर्दै धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने सुझाव दिएको बताए।

जापानमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उनको भनाइ छ। तर, नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उनको तर्क छ।

‘जापानको चालु खाता ठूलो नाफामा छ। यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ,’ उनले भने, ‘मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ। ऋण नै लिनुपर्ने अवस्था भए पनि एशियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ।’

पत्रकार सम्मेलनमा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरुको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरूलाई परिचालन गर्नुपर्ने बताए।

पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुसी भएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *