नेपालबाट बाहिरियो मनसुन

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भूभाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरू भएको जनाएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिन अझै केही दिन लाग्नेछ । ‘देशको पश्चिम भेग भएर शुक्रबारबाट मनसुन बाहिरिन सुरु भएको छ । बाँकी भेगमा मनसुन कायमै रहेकाले आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ झाले भने ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको झाले बताए । उनका अनुसार बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । नेपालको पूर्वी तथा मध्य भूभागमा हाल बङ्गलादेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर