इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदले गरे इजरायली राजदूतसँग छलफल

परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो भूमिमा व्यापक रकेट आक्रमण गरेपछि उससँग लडाइँमा होमिएको मुलुक इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे नेपालका लागि उक्त देशका राजदूतसँग छलफल गरेका छन्।

आइतबार मन्त्री साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर छलफल गरेको उनको सचिवालयले जनाएको छ।

छलफलमा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए।

जवाफमा रादजूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए। उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति नेपाल सरकारलाई धन्यवादसमेत दिएका छन्।

प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू पनि प्रभावित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार रातिसम्म दिएको जानकारीअनुसार घटनामा शनिबार बिहानदेखि ३ नेपाली सम्पर्कविहीन छन् भने ९ जना घाइते भएका छन्।

नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एनआरएनएले जनाएको छ।

त्यस कृषि केन्द्रमा १७ जना नेपाली थिए। तीमध्ये ९ जना घाइते भएका छन्। अन्य ५ जनाको सकुशल उद्धार गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर