सशस्त्र प्रहरीद्वारा मधेस प्रदेशमा २४ करोड बढीको अवैध सामान नियन्त्रण

सशस्त्र प्रहरी बल, नेपालले तराईका जिल्लाहरूमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाएको छ । २०७९ चैत्रदेखि २०८० भाद्र १५ गतेसम्मको अवधिमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका इकाइहरूले २४ करोड रूपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएका छन् ।

सो अवधिमा २० करोड ७७ लाख ६ हजार १ सय ४४ रूपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधनलगायतका सामान नियन्त्रणमा लिएर सम्बन्धित नियकायमा बुझाइएको छ ।

त्यस्तै १ करोड १ लाख ४४ हजार ३ सय ९३ रूपैयाँ बराबरको पशुचौपाया, स्रोत नखुलेको नेपाली रूपैयाँ ९९ लाख ४ हजार ३ सय १५, भारतीय रूपैयाँ २८ लाख १७ हजार ३ सय १५ समेत बरामद भएको छ । यसैगरी सोही अवधिमा ७९ लाख ४२ हजार ६ सय ५० रूपैयाँ बराबरको करिब २ हजार ८ सय १३ क्यूफिट काठ र ८ लाख ४८ हजार ५ सय ५३ रूपैयाँ बरारको सुन तथा चाँदी बरामद गरेको छ ।

यसैगरी सोही अवधिमा करिब १ हजार ३ के.जी. गाँजा, ३७.७१ के.जी. चरेश, ५ हजार ७ सय ७ वटा विभिन्न किसिमका लागुऔषध (नर्फिन, फेनार्गन, डाईजेपाम, कोरेक्स, सिरिन्ज, नाइट्रोभेट) ट्याब्लेट बरामद भएको छ ।

त्यस्तै ४ नाल हतियार, २० वटा गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद भएको छ । भारतमा बेचबिखन गर्न लगिएका २० जना नेपाली चेलीबेटीहरूको उद्धार गरिएको छ भने सो कार्यमा संलग्न रहेका १ सय १० जनालाई पक्राउ गरिएको छ ।

चोरीपैठारीलगायतका कार्यमा प्रयोग भएका ६ सय ४६ वटा विभिन्न कम्पनीका सवारी साधन समेत बरामद गरी भन्सार दाखिला गरेको छ । दशैं तिहारमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि समेत मधेस प्रदेशको सीमा नाकामा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *