परराष्ट्रमन्त्री साउदले गरे इजरायली समकक्षीसँग संवाद, नेपाल इजरायलसँग ऐक्यबद्ध रहेको जानकारी

नेपालीको सुरक्षा, मृतकको शव र इच्छुकलाई नेपाल फिर्ताका लागि इजरायल सरकारको सहयोग रहन्छ : विदेशमन्त्री कोहेन

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए।

‘महामहिमज्यू, १० नेपालीको मृत्युको खबरले हामीहरूलाई स्तब्ध बनाएको छ। उहाँहरू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो। दुखद् घटनाले गर्दा उहाँहरूका घरपरिवारका सदस्यहरू दुखी र चिन्तित हुनुहुन्छ।’

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरे।

‘महामहिमज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरूमा झन पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शवहरू नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे। उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे।

‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उहाँहरूको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भने, ‘एक जना नेपाली अझै सम्पर्कविहीन छन्। उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनान्तरण गरेका नेपाली नागरिकहरूलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे।

‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ। यद्यपि उहाँहरूमध्ये धेरै जना बंकरमा बसिरहनुभएको जानकारी प्राप्त भएको छ,’ संवादका क्रममा उनले ‘उहाँहरू खाना र पानीजस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ। यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौं।’

बंकरमा बसेका केही नागरिकहरूले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए। ‘यीमध्ये केही व्यक्तिहरूले अर्को सुरक्षित बासस्थानका लागि आग्रह गर्नुभएको छ,’ साउदले भने, ‘हाम्रो दूतावासले तपाईंका अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहनुभएको छ। उहाँहरूको सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि तपाईंहरूको सहयोग महत्त्वपूर्ण छ।’

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए।

‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरूको विवरण संकलन गरिरहेका छौं। पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकारसमक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने छ,’ उनले भने।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुखद् घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताए।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरूको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरे। उनले इजरायल अहिले कठिन मोडमा रहेको पनि बताए।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम सहयोग गर्ने आश्वासन दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर