एआईजी राई अमेरिका प्रस्थान, निमित्त आईजीपी बने थापा

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ।

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने ‘प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघको सम्मेलन’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो।

उक्त टोलीमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईका साथै प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित छन्। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरे।

संयुक्त राज्य न्याय विभाग अन्तर्राष्ट्रिय अपराध अनुसन्धान प्रशिक्षण सहायता कार्यक्रमद्वारा आयोजित उक्त कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धि गर्ने तथा कृत्रिम बुद्धिमत्ता र पुलिसिंगलगायत विविध विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायत भ्रमणमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर