रिगललाई आममाफी दिने निर्णयविरुद्ध आज पनि सुनुवाइ हुँदै

बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी विरुद्धको रिटमाथि बुधबार पुन: हुने भएको छ। मंगलबार नसकिएपछि बुधबार पुन: सुनुवाइ हुने भएको हो।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षको बहस भएको थियो। महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायवमहान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो। हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिट निवेदनमा सुनुवाइ भएको हो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि सुनुवाइ तय गरिएको थियो।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारण सहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गते भित्र झिकाउन आदेश गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *