लुम्बिनीका पूर्वसचिव अधिकारीसहित चार जनाविरूद्ध १ करोड साढे ३१ लाखको भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरूद्ध जनही १ करोड ३१ लाख ६० हजार रूपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार अधिकारीसहित चार जनाविरूद्ध मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०७५/७६ मा किसानलाई स्पेसिफिकेसन र सम्झौताविपरीत कम क्षमता र गुणस्तर नभएको मिनिटिलर तथा अन्य यन्त्र उपकरण वितरण गरेर भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको हो।

आरोपपत्रमा अधिकारीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी पनि भ्रष्टाचारमा संलग्न भएको उल्लेख छ।

तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी-नगराई भुक्तानीसम्बन्धी टिप्पणी सदर गरी सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरेको पाइएको छ।

तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले सम्झौताबमोजिम खरिद म्बन्धी कागजात संलग्न भए-नभएको एवं सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे-नरहेको अध्ययन नगरी सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डभन्दा कम गुणस्तर र फरक ब्रान्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीको लागि टिप्पणी सिफारिस गरेको आरोपपत्रमा उल्लेख छ।

त्यस्तै कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्झौताबमोजिम खरिदसम्बन्धी कागजात संलग्न भए-नभएको एवं सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे-नरहेको अध्ययन नै नगरी फरक ब्रान्ड र कम गुणस्तरको यन्त्र उपकरण आपूर्तिकर्ताले पेस गरेको कागजात जस्ताको तस्तै भुक्तानीको लागि टिप्पणी पेस गरेको अभियोग छ।

आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने मिनिटिलर खरिद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिलर वितरण गरी, सम्झौताबमोजिम नै मिनिटिलर खरिद र वितरण गरेको भनी भुक्तानी माग गरेको पाइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर