कोशी प्रदेशसभाबाट बजेटसम्बन्धी अध्यादेश स्वीकृत

कोशी प्रदेशसभाले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त अध्यादेश स्वीकृत गरेको हो ।

‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ प्रदेशसभाले स्वीकृत गरेको हो ।

उक्त अध्यादेश अस्वीकृत गर्न माग गर्दै यसअघि सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरूले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए ।

उक्त सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएका थिए । सूचना फिर्ता लिएसँगै अध्यादेश स्वीकृत भएको हो ।

प्रदेशसभाको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।

प्रदेशसभाको आजैको बैठकले कर्णालीमा भूकम्पमा परी मृत्यु भएकाहरूको शोकमा शोक प्रस्ताव पारित गरेको थियो ।

आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कोशी प्रदेशसभाका सभामुख चयन प्रक्रिया चाँडै थाल्न आग्रह गरेका थिए ।

यसैगरी सांसदहरूले भूकम्पबाट प्रभावित बनेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा गम्भीर भएर लाग्न पनि आग्रह गरेका थिए ।

शून्य समयमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आफ्ना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक मंगलबार बस्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर